बर्दिवास– महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।


ADVERTISEMENT


विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी आज सञ्चारकर्मीलाई दिए ।


ADVERTISEMENT

# # #


सङ्क्रमित १९ महिलामध्ये छजना सङ्क्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका पाँचजना बालबालिका भने गर्भदेखि नै सङ्क्रमित पाइएको परियोजना प्रमुख पौडेलको भनाइ छ ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआइभी सङ्क्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई-चार सङ्ख्या सङ्क्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र सङ्क्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिए ।

विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताए । सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्यसँग माग गरेका छन् ।