नेपालगन्ज– दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।


ADVERTISEMENT


प्रजिअ रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमतिबमोजिम असार १२ गते बिहानदेखि ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ पन्थले बताए ।


ADVERTISEMENT

# # #


“जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौँ”, प्रजिअ पन्थको भनाइ छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्ती र सहरका टोल टोलमा सुरक्षालाई थप चुस्त बनाइएको उनले जानकारी दिए ।