भद्रपुर– ‘पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ ।


ADVERTISEMENT


महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक अनुष्ठानका अवसरमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । विसं २०२३ मा स्थापित धाममा २०४० देखि प्रत्येक वर्ष बाला चतुर्दशीमा समापन हुने गरी महापुराण एवं अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।


ADVERTISEMENT

# # #


यही मङ्सिर २० गतेसम्म चल्ने अनुष्ठानमा देशविदेशका आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटक जलेश्वरधाममा भित्र्याउने लक्ष्य रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । अनुष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई महाभारतकालीन घटनाक्रम एवम् धामको उत्पतिबारे विद्युतीय जानकारी, धामको ऐतिहासिक मूलपोखरीभित्र कलात्मक सङ्गीतमय फोहरा प्रदर्शनी, लक्ष्यवर्तिका प्रज्वलन र प्रत्येक दिन विशेष गङ्गा आरती गरी धार्मिक मनोरञ्जन प्रदान गरिने छ ।

सोही धाममा अध्ययन गरेका भागवतभूषण कौशिकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट कथा वाचन गरिने छ । यसै वर्ष सरकारले विकासोन्मुख पर्यटकीय गन्तव्यका रुपमा झापाको अर्जुनधारा जलेश्वरधामलाई समेत सूचीकृत गरेको छ ।