खोटाङ– नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।


ADVERTISEMENT


उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।


ADVERTISEMENT

# # #


नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन्। उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताए। शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो ।

उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताए।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले आशंका व्यक्त गरे ।