दैलेख– जिल्लामा लुकेर रहेका सम्पदाको चर्चा गर्न काठमाडौँबाट विज्ञहरु आज यहाँ आइपुगेका छन् ।


ADVERTISEMENT


सरकारले दैलेखका विभिन्न स्थानलाई नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेसँगै भाषा, साहित्य, इतिहास, सम्पदा र विभिन्न जातजातिको उद्गमस्थलका बारेमा थप अनुसन्धान र अध्ययन गर्न एक टोली आएको जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


योगी नरहरिनाथले खोजी गरेका विभिन्न विषयको थप प्रचारप्रसार र राज्यलाई अझै जिम्मेवार बनाउँदै यहाँको कला संस्कृति र इतिहासको अनुसन्धान गर्ने उद्देश्यले विभिन्न विद्याका विज्ञ दैलेख आएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।

दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौँ शताब्दीका मूर्ति, देवल खम्बालगायत विभिन्न जातजातिको उद्गम थलो भएर पनि यसको अझै खोज अनुसन्धान हुन सकेको छैन । दुल्लु नगरपालिका, मध्यपश्चिम साहित्य परिषद् र नेपाल प्रज्ञा–प्रतिष्ठानले सांस्कृतिक महोत्सव एवं बृहत् वाङ्मय सङ्घ गोष्ठी आयोजना गर्दैछ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव जगतप्रसाद उपाध्याय, पूर्वउपकुलपति विष्णुविभु घिमिरे र सदस्य सचिव जीवेन्द्रदेव गिरी, संस्कृतिविद् जगमान गुरुङ, केशव सुवेदी, प्रा डा धनेश्वर नेपाल, राजाराम सुवेदी, मधुसूदन गिरी, राससका अध्यक्ष श्यामललगायत विज्ञको उपस्थिति छ ।

इतिहास लेखनको दोस्रो चरण

दैलेखका पत्रकारले विसं २०७३ मा शुरु गरेको इतिहास लेखन कार्यको दोस्रो चरण पनि यही अवसरमा शुरु हुने भएको छ । इतिहास लेखनको जिम्मा लिएका राजाराम सुवेदी र मधुसूदन गिरीलगायतको टोलीले यो कार्य विसं २०७३ देखि शुरु गरेको भए पनि अर्थको जोहो नभएका कारण रोकिएको थियो । स्थानीय सरकारले दैलेखको इतिहास खोजी गर्ने विषयमा चासो नदिएका कारण काम अगाडि बढ्न सकेको थिएन ।

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले दैलेखको ऐतिहासिक महत्व धेरै भएको र यहाँको इतिहास लेखनको कार्यले सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले कर्णाली प्रदेश सरकारले सो अभियानमा सहयोग गर्ने वचन दिएपछि दोस्रो चरणको काम शुरु हुने भएको हो । प्रदेशसभा सदस्य अमरबहादुर थापाले दैलेखका पत्रकारले थालेको दैलेख चिनाउने अभियानमा साथ दिन प्रदेश सरकारलाई बारम्बार आग्रह गरेका थिए।

विज्ञले दैलेखका विभिन्न सम्भावनाका बारेमा खोजी गर्ने र इतिहासको पुनर्लेखन गरेर यहाँको विगत, वर्तमान र भविष्यको कुरा बाहिर ल्याउँदै देश विदेशमा यसको प्रचारप्रसार गरिने इतिहास लेखन अभियानका संयोजक विष्णु शर्माले जानकारी दिए ।रासस