पोखरा– समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ ।


ADVERTISEMENT


आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल समाजका ७७ जना बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्दै आएको बालगृहका सञ्चालक गोमा ढकालले बताइन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा सञ्चालित बालगृहमा ४० बालबालिका आवासीय रुपमा रहेको र ३७ जनालाई परिवारसँगै राखेर पठनपाठनमा सहयोग गर्दै आएको छ ।

संस्था सञ्चालनको पहिलो अवस्थामा निकै कठिनाइ आएको भए पनि पछिल्लो समय सबै क्षेत्रको उल्लेख्य सहयोगले असहाय बालबालिकाको क्षेत्रमा लाग्न आफूलाई थप प्रेरणा मिलेको उनले बताइन् ।

समाजका असहाय बालबालिकालाई एउटै छानामुनि आधारभूत शिक्षा, स्वास्थ्यलगायतका विभिन्न आवश्यकतासहित मातृत्व स्नेह प्रदान गरेको सो बालगृह पछिल्लो समय सबैका लागि अनुकरणीय एवं समाजप्रति उत्तरदायी बनेको हो ।

आफूले जन्माएका सन्तानको समेत ध्यान पुर्याउन नसकेको हाम्रो समाजमा विभिन्न क्षेत्र, वर्ग र संस्कारबाट आएका ७५ जना बालबालिकाको अभिभावक बन्न पाउँदा आफूलाई गर्व लागेको सञ्चालक ढकालको धारणा छ ।

बालगृहमा हाल कास्की, तनहुँ, गोरखा, सोलुखुम्वु, सिन्धुुपाल्चोक, कालीकोट, दाङलगायत विभिन्न जिल्लाका बालबालिका आबद्ध रहेको बालगृह सञ्चालनमा स्वदेशी तथा विदेशी दाताको आर्थिक सहयोगबाट निरन्तरता पाएको सञ्चालक ढकालले जानकारी दिइन्।

बालगृह सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा पालनपोषणमा वार्षिक रु ९० लाखभन्दा बढी खर्च हुने गरेको छ ।

उनका अनुसार जर्मनको भिपी फाउण्डेशनलगायत अष्ट्रेलिया, अमेरिका, फ्रान्स, इटालीलगायतका विभिन्न देशका व्यक्तिको बालगृहलाई सहयोग रहँदै आएको छ । संस्थामा जम्मा कूल रकमको पाँच प्रतिशत रकम सङ्कलन गरेर पोखरा २४ स्थित पामेमा बालगृहले खरीद गरेको लगभग छ रोपनी जग्गामा रेन्बो कृषि फर्म सञ्चालन गर्ने योजना रहेको बालगृह सञ्चालक समितिका सचिव इन्दिरा लामिछानेले जानकारी दिइन् ।

“बागगृहमा आबद्ध बालबालिकालाई कृषि व्यवसायमा आकर्षण गरी स्वरोजगार सिर्जना गर्ने संस्थाको लक्ष्य रहेको छ”, उनले भनिन् । उक्त जग्गामा हाल धान रोप्नुको साथै ताजा तरकारीसमेत उत्पादन गर्दै आएको उनले राससलाई जानकारी दिइन्।

समाजका बेसहारा बालबालिकाको अभिभाकत्व ग्रहण गरेर राज्यको जिम्मेवारीभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व पूरा गर्दै जनस्तरबाट सञ्चालित संस्थाको निरन्तरताको लागि मूल्याङ्कनको आधारमा सरकारीस्तरबाट समेत उचित सहयोग हुनु अपरिहार्य भएको छ । –हरि बाँस्तोला/रासस