काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले दोस्रो जित हात पारेको छ । यसअघि दुई वटा हार ब्यहोरिसकेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठामाडौँ रोयल्सलाई १३ रनले हराएको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले हरिशंकर शाहको अर्धशतकको मद्दतमा १ सय ४९ रन बनायो । १५० रनको विजयी लक्ष्य पच्छ्याएको काठमाडौँ पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १३६ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


काठमाडौँका लागि गौरव तोमारले सर्वाधिक रन बनाए । ३९ रन बनाए । ३६ बलमा उनले ४ चौका र एक छक्का हानेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ३०, पवन सरार्फ २८ र जयकिसन कोल्सावालाले १८ रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

चितवनलाई जिताउन करण केसीले ३ विकेट लिए । यस्तै कप्तान पारस खड्काले २ विकेट लिँदा सन्नी पटेल, भुवन कार्की र सुमित पटेलले समान १/१ विकेट हात पारे ।

यसअघि चितवनका हरिशकर शाहले अर्का ओपनर अनिल शाहसँग पहिलो विकेटका लागि गतिलो साझेदारी गरेका थिए । सातौं ओभरमा ५४ रन बनाएको अवस्थामा अनिल २७ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले २७ बलकै सामना गरेका थिए । हरिशंकरले ४९ बलमा ६० रन बनाए । उनको इनिङमा ३ छक्का र ५ चौका समावेश थिए ।

तेस्रो नम्बरमा आएका पारस खड्काले १४ बलमा एक छक्काको सहयोगले १४ रन मात्रै जोड्न सके । तर, भारतीय ब्याट्सम्यान स्मित पटेलले आक्रामक ब्याटिङ गर्दै चितवनको इनिङ उकासे । उनले एक छक्का र तीन चौकासहित २४ बलमा ३१ रनको योगदान दिएर रनआउट भएका थिए । त्यस्तै, सन्नी पटेलले एक छक्काको सहयोगमा ७ बलमा १३ रन बनाएर आउट भए ।

बलिङतर्फ काठमाडोंका वसन्त रेग्मी सर्वाधिक सफल सावित भए । उनले ३ ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । यसैगरी पवन सर्राफ, नन्दन यादवले एक/एक विकेट बाँडेका छन् ।