सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट प्रहरीले अवैध रुपले ल्याइएको तीन ट्याक्टर सालको काठसहित तीन चालकलाई पक्राउ गरेको छ । आज बिहान जङ्गलबाट काँचो सालको काठ अवैध निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


कमलामाई नगरपालिका–४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासीमा संलग्न ती ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कनपा–४ निवासी ज१त ३१७६ नंको ट्याक्टर चालक २३ वर्षीय राकेश ढकाल, कनपा–४ कै ना ४ त ७८८२ नंको ट्याक्टर चालक २१ वर्षीय दीपेन्द्र श्रेष्ठ र कनपा–४ कै ना५त ५१५६ नंको ट्याक्टर चालक २६ वर्षीय मोहन दाहाल पक्राउन परेका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार काठ तस्करीमा संलग्न मुख्य व्यक्ति भाग्न सफल भएपनि उनीहरुको खोजी जारी छ । कटान गरिएका काँचा सालका गोलिया काठमा जिल्ला वन कार्यालयले टाँचा नलगाएको पाइएकाले अवैध रुपमा काठ कटान गरी निकासी भएको पाइएपछि पक्राउ गरिएको हो ।

यता लामो समयदेखि भूकम्पपीडितले काठ नपाएको गुनासो गरेका छन् । स्थानीयवासीले नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिसँग घर निर्माणका लागि भूकम्पपीडितले काठ माग गरेपनि समितिले उपलब्ध नगराएको भूकम्पपीडितको भनाइ छ । वन समितिले काठ दिने र समितिको नाममा रकम जम्मा गरेको बैंक भौचर भएमा दिने बताए पनि आफूहरुसँग बैंकमा रकम जम्मा गरेको भौचर हुँदा पनि समितिले काठ नदिएको नाम उल्लेख नगर्ने सर्तमा एक भूकम्पपीडितले दुखेसो पोखे । लामो समयदेखि वन क्षेत्रभित्र पर्ने सालका हरिया रूख कटान गरी नजिकै रहेको काठ उद्योगलाई समितिका अध्यक्ष तारा लामिछानेले काठ उद्योगका बुद्धि श्रेष्ठसँग मिलेमतो गरी व्यापक वन फँडानी गरेको उनकोे भनाइ छ ।

भूकम्पपीडितलाई सरकारले काठ उपलब्ध गराउने भनेको सुनेका थियो तर समितिले आलटाल गर्दै आएको थियो । घर बनाउन काठ नपाएपाछि महँगो मूल्यमा समिलबाट काठ खरिद गरी काठ किनेको समितिकै सदस्य रहेका उपभोक्ताको भनाइ छ । सो समितिका अध्यक्ष लामिछानेले वन कार्यालयको अनुमति बिना आफूखुसी पैसा कमाउने उद्देश्यले अवैध काठ निकासी गरेको उनीहरुको आरोप छ ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बच्चुराम सुवेदीले नवदुर्गा सामुदायिक वनमा उपभोक्तालाई वितरण गर्न दुई हजार ५०० क्युफिट काठ कटान गर्न आदेश दिएको बताए । समितिले वनले आदेश दिएभन्दा वेगरका रूख कटान गरे÷नगरेको भन्ने अनुसन्धान गर्ने बताए। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत रूख कटान गर्न आदेश दिएको उनको दाबी छ । वैज्ञानिक वन व्यवस्थापनमा बुढो, धोद्रो, वनको सुन्दरचामा आँच पुर्याउने र सुकेका रूख कटान गर्न सकिने प्रावधान भए पनि वन समितिले सग्ला हरिया सालका रूख कटान गरेको छ । रासस