बर्दिवास– तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ/नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ ।


ADVERTISEMENT


घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका लागि यो अतिरिक्त आयको स्रोत बनेको हो । “हेर्नोस् न, त्यही मठ वरिपरि लगाइएको फूल न हो” भङ्गाहा नगरपालिका–४ की गृहिणी महिला हीरा दाहालले भनिन्, “हिजो घरमै फूल खोज्न आएका व्यापारीले दुई हजारमा दिनोस् भन्दै बैनास्वरुप (पेश्की, समान किन्दा गरिने बोलकवोल) रु एक हजार दिएर गए ।”


ADVERTISEMENT

# # #


तुलसीको मठ वरिपरि दुई÷तीन धुर जग्गाकै सयपत्री फूलले आफ्नो घरको आवश्यकता टारेर रु दुई हजार दिने भएपछि दाहाल अब भने तिहार लक्षित सयपत्री फूल खेती नै गर्ने टुङ्गोमा पुगेकी छन् ।

आफ्नै करेसाबारीको फूलले अतिरिक्त आम्दानी दिने भएपछि दाहालका अन्य छिमेकी गृहिणी महिला पनि अब व्यावसायिक रुपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । “मखमली र सयपत्री फूल खोज्न आउने व्यापारीले मैले भनेकै मूल्यमा फूल लाने टुङ्गो गरेका छन्” आफ्नो आँगन छेउका ५० बोट जति सयपत्री फूलका बोट देखाउँदै सो बस्तीकै अर्की गृहिणी कञ्चन सहनीले भनिन्, “अब चैँ बिक्री नै गर्ने गरी फूल खेती गरिन्छ ।”

यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूलले नसोचेको आम्दानी दिएपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रका गृहिणी महिलाको अब व्यावसायिक रुपमै फूल खेती गर्ने सोच बनेको हो । कुनै व्यावसायिक प्रयोजनबिना नै शोभा र चाडपर्वमा आफ्नै आवश्यकताका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाई दिएको घरायसी काममै व्यस्त रहने गृहिणी महिलाको भनाइ छ ।

यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री फूल लाँदा रु तीन हजारभन्दा बढी आम्दानी हुने भएको बर्दिवास–२ बारनचौडीकी गायत्री उपाध्याय बताउँछिन्।

अहिले तिहार नजिकिएसँगै फूल खोज्ने ग्राहक र व्यापारीको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै देखिने गरेको छ । पर्व विशेषले गर्दा फूल खोज्नेले मोलमोलाइ नगरिकन नै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो वरपरका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास–६ कृष्णपुरकी दीपा राजभण्डारीको भनाइ छ ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिएको खासै नदेखिए पनि अब यसको सम्भावना बढेको कृषिविज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती शुरु गरिए आम्दानीको मुख्य स्रोत हुने भङ्गाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सुट्टा मण्डल बताउँछन् ।

दश नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका महोत्तरीमा पछिल्ला दुई÷तीन वर्षदेखि बलवा नगरपालिकाको बनौटा, धमौरा र पडौल बस्तीमा भने किसानले व्यावसायिक रुपमै फूल खेती शुरु गरेका छन् । यी बस्तीका फूल खेती गर्ने किसानले जग्गाको अभाव नभए पनि दुई÷तीन कट्ठाभन्दा बढी फूल खेतीको क्षेत्रफल बढाउन नसकेको बलवा नगरपालिकाका प्रमुख विनोद यादव बताउँछन् । “फूल खेतीबाट आम्दानी राम्रो भएको किसान बताउँछन्” प्रमुख यादवले भने, “तर खेती गर्ने किसान र खेतीको क्षेत्रफल भने जहीँको त्यहीं नै छ ।”

फूल खेती गर्ने किसानलाई बीउ र अन्य प्राविधिक सहयोग गर्न नगरपालिका तयार रहेको बताउँदै प्रमुख यादवले आगामी वर्ष गरिने फूल खेतीबारे समय (सिजन अघि नै) मै कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरे ।

बलवा नगरपालिकाका यी बस्तीमा व्यावसायिक फूल खेती गर्ने किसानका घरमै टाढाटाढाबाट व्यापारी पुग्ने गरेका छन् । “हामीले फूल बेच्न अहिलेसम्म भौँतारिनु परेको छैन”, पडौल बस्तीका किसान जयकरण यादवले भने, “१० वर्ष भयो फूल खेती थालेको, व्यापारी यही आएर फूल लाने गरेका छन् ।” यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले त्यहाँको उत्पादन रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।

यी बस्तीमा उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पु¥याइने गरिएको वर्षौंदेखि फूल व्यापार गर्दै आएका जनकपुरका व्यापारी फूलदेव भण्डारी मालीले बताए ।

फूल खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जनाएको छ । अहिले फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए । जिल्लामा अहिले करीब २५ हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक फूल खेती हुँदै आएको जिल्ला समन्वय समिति, कृषि शाखा महोत्तरीले जनाएको छ । –गोपालप्रसाद बराल/रासस