अछाम– अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


जिपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते मङ्गलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।

कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मङ्गलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो ।

ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मङ्गलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।