काठमाडौं – संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेको छ ।


ADVERTISEMENT


लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ का लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर परेको छ भने नेपालको राजधानी काठमाडौं पाँचौं स्थानमा परेको परेको हो । काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको छ ।


ADVERTISEMENT

# # #


ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ । लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट सहरको सूचीमा काठमाडौं पर्नुलाई पर्यटन क्षेत्रले ठूलो उपलब्धि मानेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले यसबाट नेपालमा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने जनाएको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा काठमाडौंमात्र नभई समग्र नेपालको छवि थप आकासिएको छ । नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको यो सूचीले बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ ।

संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यो सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने व्यवसायीको भनाइ छ ।