काठमाडौं– प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वराष्ट्रपति रामवरण यादवसहितका नेतामध्ये कोही गृहजिल्ला पुग्दैछन् भने कोही काठमाडौंमै बसेर चाडबाड मान्ने योजनामा जुटेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलसहितका केही नेता यही मौका छोपेर धार्मिक यात्रामा निस्कने तयारीमा छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले मंगलबार नेपाली सेनाको आयोजनामा टुँडिखेलमा हुने फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति बुधबार बिहान पलाञ्चोक भगवती जाने र त्यसपछि विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव जीवछ साहले बताए । राष्ट्रपति भण्डारीले विजया दशमीका दिन पारिवारिक सदस्यका साथै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ अधिकारीका साथै सर्वधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति कार्यालयका अनुसार १ देखि २ बजेसम्म उच्चपदस्थ अधिकारी र त्यसपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विजया दशमीका दिन बिहान गृहजिल्ला झापाबाट काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले त्यस दिन बिहान पिता मोहनप्रसाद ओलीसँग टीका लगाएर काठमाडौं फर्कने भएका छन् । उनी टीकाको अघिल्लो दिन नवमीमा झापा जाने भएका छन् ।

नवमीमा दिनभर उनी शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त हुने भएका छन् । त्यस दिन उनी बिर्तामोडमा दसैंतिहार तथा छठ पर्वका अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुनेछन् । नवमीका दिन बिर्तामोडमा हरेक वर्ष ओलीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेको प्रेस संयोजक अधिकारीले बताए ।

त्यस्तै विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमै दसैं मनाउने भएका छन् । ‘दसैंका लागि काठमाडौंबाहिर जाने उहाँको कुनै कार्यक्रम छैन,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘काठमाडौंमै बसेर दसैं मनाउने उहाँको कार्यक्रम छ ।’ परिवारका सदस्यका साथै पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै निवास बुढानीलकण्ठमा टीका लगाइदिने देउवाको योजना छ ।

यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपालले काठमाडौंमा दसैं मनाउने भएका छन् । नवमीका दिन उनी गृहजिल्ला रौतहटबाट काठमाडौं आउने भएका छन् । टीकाको दिन उनले दाजु दिव्यकुमार उपाध्याय र सानीआमा शान्ता नेपालको हातबाट टीका लगाउने छन् । मंगलबार उनी रौतहट जाने कार्यक्रम तय गरिएको छ । तर, पार्टी नेता रामचन्द्र पौडेलले भने मंगलबार धार्मिक भ्रमणमा निस्कनेछन् । १२ दिने धार्मिक भ्रमणका क्रममा पौडेलले छिमेकी मुलुक भारतका बोधगया, बद्रीनाथ, केदारनाथ, हरिद्वार, ऋषिकेशसहितका ठाउँमा पुग्नेछन् । ‘भारतका विभिन्न तीर्थस्थल जान लागेको हुँ,’ पौडेलले भने, ‘राजनीतिक भेटघाँटको कुनै कार्यक्रम छैन ।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले काठमाडौंमै दसैं मनाउने भएका छन् । ‘दसैंमा काठमाडौंबाहिर जाने कार्यक्रम छैन,’ निधिका स्वकीय सचिव विश्वास विक्रमले भने, ‘उहाँ मन्दिरहरूमा जाने र पारिवारिक भेटघाट गरेर दसैं मनाउने योजनामा हुनुहुन्छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर महोत्तरीको जलेश्वरमा दसैं मनाउनेछन् । ठाकुर आइतबार जलेश्वर पुगेका हुन् । राजपा नेपालका सहमहामन्त्री डा।सुरेन्द्र झाले टीकाको दिनसम्म ठाकुर महोत्तरीमा गरिने शुभकामना आदानप्रदान कार्यक्रम, दूर्गामाताको पूजाअर्चना तथा दसैंका अन्य कार्यक्रममा सहभागी हुने बताए ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि गृहजिल्ला सर्लाहीमा दसैं मनाउने भएका छन् । उनी सोमबार धनुषा पुगेका छन् । महतो टीकाको दिनसम्म धनुषाबाट सर्लाही पुग्नेछन् । यसैगरी राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य शरत्सिंह भण्डारी दसैंको अघिल्लो दिन महोत्तरीबाट काठमाडौं आउने भएका छन् । टीकाका दिन उनी काठमाडौंमै रहने भएका छन् । – आजको नागरिक दैनिकबाट