– अर्जुन नरसिंह केसी


ADVERTISEMENT


यो दशैँलाई भौतिक रुपले बाहिरी चहलपहलका रुपमा मात्रै लिनु भन्दा त्यसका पछि के चिन्तन र दर्शन लुकेको छ ? त्यतातिर पनि हामीले गम्भीर भएर पुर्नविचार गर्ने र ग्रहण गर्ने क्षमताको विकास गर्नुपर्छ जस्तो लाग्छ । वडा दशैँलाई हामीले विजयोत्सवको रुपमा लिन्छौँ । त्यो के भने असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र व्यभिचारमाथि सदाचारले विजय प्राप्त गरेको पर्वको रुपमा हामीले यसलाई लिएका छौँ ।


ADVERTISEMENT

# # #


महिषाशूरमाथि दुर्गाको विजय भएको दशैँ होस् वा रामको रावणमाथिको विजयोत्सव रामनवमीको । यससंग हाम्रा ऐतिहासिक, धार्मिक पृष्ठभूमिहरु छन् । त्यसलाई साचेर अहिले हामीले भोगिरहेका कठिन परिस्थितिलाई निराकरण गर्दै सत्यको मार्गमा, न्यायको मार्गमा अगाडी लैजाने चाडका रुपमा लिनुपर्छ भन्ने मेरो सोच हो ।

त्यस्तै दिपावलीलाई हामी अन्धकारबाट उज्यालो तर्फको यात्राका रुपमा लिन्छौँ । यसबाट हामीले सिक्नु पर्ने कुरा के छ भने हाम्रा पौराणिक मान्यता र दर्शन व्यापक र समतामुलक छन् । हामी तिहारमा कागको पूजा गर्छौँ, कुकुरको पूजा गर्छौँ, गोरुको पूजा गर्छौँ । यसको मतलब के हो भने सबै प्राणिलाई समानतापूर्वक हेर । यसैबाट नै हामी नयाँ समाज निर्माण गर्न सक्छौँ ।

अहिले देशमा क्षेत्रीय द्वन्द्वका कुरा, जातीय द्वन्द्वका कुरा, धार्मिक द्वन्द्वका कुरा देखिन्छन् । यी कुरामा नअल्झिएर विश्व भातृत्व र विश्व बन्धुत्वको भावना सिर्जना गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ । हामी नेपालीहरुमा कहिले यो चाड यसको, कहिले यो चाड उसको भनेर विवाद देखिन्छ । वास्तवमा नेपालमा नेपाली जनताले मनाउने सम्पूर्ण चाड नेपालीको चाड हो । त्यो हाम्रो सम्मान हो, त्यो हाम्रो गौरव हो । त्यसबाट नै नेपाल र नेपालीहरुको पहिचान हुन्छ ।

हाम्रो राष्ट्रिय संस्कृतिहरु कुल्चेर, हाम्रै राष्ट्रिय विभूतिहरुका शालिक तोडेर हामी कहिलेकाही नयाँ नेपाल सिर्जनाको कल्पना गर्छौँ । त्यो गलत कुरा हो । हामीभित्र भएका हाम्रा मान्या, संस्कार र प्रवृत्तिहरुलाई संरक्षण गर्दै त्यसलाई आधुनिकीकरण गर्नु नै हाम्रो अहिलेको आवश्यकता हो ।

म कहिलेकाही यूट्युब हेर्छु । यूरोपका कतिपय स्कूलहरुमा संस्कृती वन्दनाबाट पढाई सुरु हुन्छ । तर, हामी संस्कृतिलाई अत्यन्त हेयका दृष्टिले हेर्ने र हाम्रा मान्यताहरुलाई बिर्सिने गर्छौँ । त्यसलाई पनि एउटा पाठको रुपमा सिक्नुपर्छ यी चाडपर्व मनाउँदा । त्यसपछि तिहारैभित्र पर्ने नेपाल संवत् हाम्रो नेपालमै जन्मिएको राष्ट्रिय संवत् हो । त्यो नेपाल संवत् वास्तवमा अत्यन्त परोपकारी भावना र दृष्टिकोण लिएर आएको हुन्छ ।

यस्तै सूर्यदेवको पूजा आरधना गरिने पर्व छठले एकताको सूत्रमा हामीलाई बाँधेको छ । यस्तै ल्होसार जस्ता अन्य पर्वहरु छन् । त्यस कारण यी विभिन्न किसिमका जात जाती, धर्म र संस्कृतिका पर्वहरु छन्, तिनले हामीलाई विविधता हुँदाहुँदै पनि एक बनाएका छन् ।

हामी हरेक नेपाली जुनसुकै जात र धर्मका हौँला । चाहे हिमालका कन्दरामा जन्मेका हौँ वा तराईका वस्तीहरुमा, चाहे झुपडीमा जन्मेका हौँ वा महलमा, यी पर्वले नै हामीलाई एक बनाएका छन् । हामी नेपाली हौँ भन्ने भावना जोगाएका छन् । यस अवसरमा म सबैलाई हार्दिक शुभकामनासहित मंगलमय जीवनयात्राको कामना गदर्छु ।

समाजमा अहिले नकारात्मक प्रवृत्तिहरु देखिएको छ । यो डेढ महिनाभित्रमा नै ७  देखि ७० वर्षीया महिलाको बलात्कार र हत्या बढीरहेको जस्तो देखिन्छ । त्यसमा राज्य संयन्त्र मूकदर्शक हुनु दुःखद पक्षहरु छन् । त्यसमा पनि सामाजिक चेतना अभिवृद्धिको आवश्यकता छ भने अर्कोतिर राज्यले यस्तो कुराहरुमा अत्यन्त गम्भीर हुनेपर्ने देखिन्छ । त्यतातिर राज्यको ध्यान पुगोस् र यस्ता नकारात्मक प्रवृक्ति नियन्त्रण गर्ने क्षमता वर्तमान सरकारमा होस् भन्ने कामना गर्न चाहन्छु ।

नेपाली कांग्रेसले जन्मजातदेखि नै धार्मिक स्वतन्त्रता बोकेर आएको हो । सबै संस्कार, संस्कृति र धर्मलाई हामीले समान ढंगले व्यवहार गर्ने दर्शन कांग्रेसले बोकेको छ । राष्ट्रिय जीवन यात्रामा सबैले समान पहिचान, प्रतिष्ठा, विकास र प्रतिनिधित्व कायम् गर्न पाउन् भन्ने हिसाबले नै कांग्रेसको जन्म भएको हो । त्यस कारण यी चाडहरुले त्यसमा पक्कै केही थप्नेछन् भन्ने मलाई विश्वास छ ।

जुन किसिमको सामाजिक परिवेश देशमा निर्माण भएको छ, अशान्ति, जातीय विभेद, क्षेत्रीय सोचहरु । त्यसलाई राज्यले जहिल्यै पनि संयोजन गरेर जानुपर्छ । यो राजनीति भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । कुनैपनि धर्मले तोड्न होइन, जोड्न सिकाउँछ । सबै धर्मका आ–आफ्नै महत्व छन् । तीनलाई सम्मान गर्नुपर्छ ।

सर्वधर्म समभाव र सामाजिक एकता र सद्भावनाको यात्रामा हामी अगाडी बढ्नुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता हो । अहिले सरकार र नेतृत्वमा दम्भ देखिएको छ । दम्भ र अहंकारबाट समस्याको समाधान हुँदैन । संयोजनाबाट मात्रै समस्या समाधान हुन्छ । हाम्रा चाडहरुले दिने अद्वीतीय दर्शन र चिन्तनबाट प्रभावित भएर सबैमा सद्बुद्धि पलाओस् । फेरिपनि दशैँको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(कांग्रेस नेता केसीसंग गरिएको कुराकानीमा आधारित)