काठमाडौं– मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेल भुटानसँग खेल्न लागेको हो ।


ADVERTISEMENT


युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।


ADVERTISEMENT

# # #


तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान ३ खेलबाट २ अंकसहित पाँचौ स्थानमा छ । छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनु परेको छैन । नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ । एक खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो ।

नेपालले पछिल्लो पटक भुटानसँग सन् २००६ मा खेलेको थियो । नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो । मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ वर्षपछि भुटानसँग खेल्न लागेको हो ।

यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन् । यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो ।

छनोट खेलिरहेका टिमले सन् २०२० को विश्वकपमा पुग्न विभिन्न ३ वटा छनोट चरण खेल्नुपर्नेछ । नेपालले अहिले खेलिरहेको सब रिजनमा मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड रहेका छन् । यसबाट शीर्ष ३ टिमले एशियन रिजन छनोट खेल्नेछन् ।

एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरू बिच एसियाली क्षेत्रीय छनोट हुनेछ । यसबाट २ टिम मात्र टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन् । हाल एसियन सब रिजनल ‘ए’ बाट युएई, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन् ।

एसियाली छनोटबाट आएका २ टिमले अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही वर्षको डिसेम्बरसम्म आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम बिच ग्लोबल छनोट हुनेछ ।

जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन् । नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो ।