मुस्ताङ– नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ ।


ADVERTISEMENT


मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ । दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन् ।


ADVERTISEMENT

# # #


गत वर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो । मेला सञ्चालनका लागि ढुङवासेन काउन्टीमा चिनियाँ सुरक्षा अधिकारी र नेपालका तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारीबीच छलफल भएको थियो । सो छलफलमा लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्णकुमार विष्ट र दालोमे गाउँपालिका प्रमुख लोप्साङ छोम्फेल गुरुङ(राजु)को सहभागिता रहेको थियो ।

उक्त बैठकमा चिनियाँ पक्षले सुरक्षालाई पहिलो प्राथमिकता दिएर परिचयपत्र बिना प्रवेश दिन नसक्ने बताएको थियो । सोहीबमोजिम दुई गाउँपालिकाका बासिन्दाका लागि इलाका प्रशासन कार्यालयले अस्याथी परिचयपत्र जारी गरेको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख जीतेन्द्र बलामीका अनुसार वर्षको दुईपटक आयोजना हुने सो अन्तरदेशीय व्यापार मेलाबाट सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु आयातदेखि विभिन्न किसिमका जडीबुटी निर्यात गर्छन् । गत वर्ष २५ दिनसम्म व्यापार मेलाका नाका खुलाइएको थियो ।

व्यापार मेला हुने भएपछि अहिले कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय सञ्चालनमा आएको छ । मेलामा निर्यातभन्दा आयात नै बढी हुने गरेको लोमान्थाङ गाउँपालिका प्रमुख विष्टले बताए ।