काठमाडौँ– पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो ।


ADVERTISEMENT


संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा सहभागी भएर बिहीबार फर्कनु भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नेकपामा पछिल्लो समय पार्टीभित्र सरकार सञ्चालन र पार्टी सञ्चालनलाई लिएर देखिएको असन्तोषबारे समेत छलफल हुने जनाइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति सार्वजनिक रुपमै आलोचना गरेर असन्तुष्टि पोख्दै आएका छन् ।

केही दिनपहिले बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । नेकपाले प्रदेश र जिल्ला तहको पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी आवश्यक तयारी शुरु गरेको छ ।

नेकपाको केन्द्र र प्रदेशका एकता प्रक्रिया अगाडि बढे पनि प्रदेश, जिल्ला तह तथा जनवर्गीय सङ्गठनको एकता भने निष्कर्षमा पुग्न सकेको छैन । सचिवालय बैठकले उक्त विषयमा समेत आवश्यक निर्णय गर्ने विश्वास लिइएको छ ।

यसअघि पार्टीका तल्ला कमिटी, विभाग, जनवर्गीय संगठनबीच एकीकरणका निम्ति छुट्टाछुट्टै कार्यदल बनाइए पनि ती कार्यदलको सिफारिस विवादित बनेपछि विघटन गरिएको छ । नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इञ्चार्ज, सह(इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोक्दै कार्यदलहरू विघटन गरेको थियो ।