काठमाडौँ– मधुपर्क साहित्यिक मासिकको ५०औँ वर्ष प्रवेशका अवसरमा सो पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


साहित्यिक पत्रकारितामा नियमित मासिकमध्येको अगुवा मानिने मधुपर्कको सो ५७६औंँ पूर्णाङ्क यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष शत्यमोहन जोशीले संयुक्तरुपमा विमोचन गरे ।


ADVERTISEMENT

# # #


विशेषाङ्कमा नेपालका अमूर्त सम्पदाको परिचय, कात्तिक नाँच, दाफा सङ्गीत, मुन्धुम, लोकवार्ता, घाटु नृत्य, मूर्तिकला, वाग्मती सभ्यता, खार्पूनाथ आदिबारे विज्ञहरुको लेख, रचना समावेश छन् ।

कार्यक्रममा यसअघि घोषणा गरिएको रु २५ हजार राशिको मधुपर्क सम्मान यस वर्ष भाषाविद् चूणमणि बन्धू र कवि श्यामदास वैष्णवलाई प्रदान गरियो ।

गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे, शताब्दी वाङ्मय पुरुष जोशी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्लगायतले पत्रिकाको निरन्तरताको कामना गरे ।

सो पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले दक्षिण एसियामै ५७६औँ पूर्णाङ्क प्रकाशित हुने सम्भवतः मधुपर्क नै पहिलो साहित्यिक पत्रिको हो भने।