गौशाला– महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।


ADVERTISEMENT


जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार नैन्ही गाउँमा गत भदौ २९ गते एकै पटक ४१ जनामा झाडापखाला देखिएको हो । गत भदौ ३० गते उपचारका लागि भारत लगिएका स्थानीयवासी चार वर्षीया खुश्वु खातुनको मृत्यु भएको थियो । अहिले जिल्ला अस्पतालमा २० जना बिरामीको उपचार भइरहेको छ भने २१८ जनाको स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


अहिले नैन्ही गाउँमा जिल्ला स्वास्थ्य कार्यालयको औषधिसहितको टोली क्याम्प स्थापना गरी उपचार गरिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजीव झाका अनुसार सो गाउँका २०० भन्दा बढी परिवार झाडापखालाबाट प्रभावित छन् । रासस