तेह्रथुम– काँधमा झोलैझोला बोकेर ‘जय गोरखनाथ’ भन्दै म्याङलुङ बजारका प्रत्येक घरघरमा भेटिन्छन्, फेदाप गाउँपालिका–२ ओयाक्जुङका १४ वर्षीय भानुभक्त जोगी ।


ADVERTISEMENT


कक्षा तीनसम्म पढेका भानुभक्त बुबा देवरानाराय जोगीसँगै फेरी लगाउन सहरबजार र गाउँगाउँमा घुम्ने गर्दछन् । विद्यालय गएर किताब पढ्नुभन्दा पनि उनलाई बुबासँगै सहर बजार घुमेर ‘जय गोरखनाथ’ भन्दै पैसा र चामल बटुल्न जाँगर चल्न थालेको छ ।


ADVERTISEMENT

# # #


उनी पहिले पनि नियमित विद्यालय जाँदैनथे । ‘विद्यालय गयो भने घरमा बिहानबेलुका खान पुग्दैन,’ उनले भने । बुबासँगै फेरी लगाउन गयो भने खान पनि पाइने दुई/चार पैसा पनि कमाइने उनले बताए ।

‘अहिले विद्यालय जान मन लाग्दैन, यो काम नै ठीक छ, उनले भने, ‘पितापुर्खाको बिँडो त कसैले न कसैले थाम्नै परो नि ।’ नेपालको संविधानमा सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।

जिल्लामा शिक्षा विकास तथा समन्वयन एकाइ तेह्रथुमले बालबालिकालाई विद्यालयमा भर्ना गराउने र विद्यालयबाहिर सो उमेर समूहका सबैलाई भर्ना गर्न जिल्लाव्यापी अभियान सञ्चालन गरेको छ ।

तर, जोगी समुदायका अधिकांश बालबालिका निःशुल्क र आधारभूत शिक्षाको पहुँचमा छैनन् । यहाँका युवाहरू वर्षमा ६ महिना ‘फेरी’ लगाउन गाउँबाहिर नै हुन्छन् ।

गाउँमा मेला, पर्म, घाँस, दाउरासँगै गाउँलाई विकास निर्माणको कार्यमा महिला नै खट्ने गरेका छन् । आर्थिक रूपमा विपन्न यहाँका बालबालिका खर्च जुटाएर ल्याउने अनि चाडपर्व मनाउने गर्छन् । ‘फेरी’ लगाएबापत पाएको अन्नचामलले नै जोगी समुदायले गर्जो टार्दै आएको स्थानीय निशा जोगीले बताइन् । – आजको राजधानी दैनिकबाट