फलेवास, पर्वत– पर्वतमा क्रियाशील लायन्स क्लब अफ कुश्मा सिटीले जिल्लाका विभिन्न विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


विपन्न बालबालिकाले अध्ययन गर्ने जिल्लाका नौ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, बोर्ड तथा अन्य शैक्षिक सामग्री गरी रु साढे आठ लाख बराबरका सामग्री सहयोग गरेको हो । जापानमा रहेको लायन्स क्लब अफ नाागासाकीको सहयोगमा उक्त सहयोग गरिएको हो ।


ADVERTISEMENT

# # #


अध्ययनको सिलसिलामा जापानमा रहेका पर्वतको मोदी गाउँपालिका–२ पातीचौर निवासी ठाकुरबहादुर पौडेल र लायन्स क्लब अफ कुश्मा सिटीका संस्थापक सदस्य उषा पौडेल भण्डारीको पहलमा उक्त सहयोग प्राप्त भएको हो ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३३७ सी टु आर जापानअन्तर्गतका विभिन्न पाँच वटा क्लबले उक्त सहयोग पाएका हुन् । सरस्वती मावि मोदी–२ को लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सोही ठाउँको विद्याज्योति प्राविका लागि पुस्तक, ह्वाइट बोर्ड र अन्य शैक्षिक सामग्री, पञ्चकोसी उच्च मावि आर्थरका लागि एक एक थान कम्प्युटर प्रिन्टर र प्रोजेक्टर सहयोग गरिएको छ ।

त्यसैगरी सिद्ध मावि पाङराङका लागि कम्प्युटर, वीरेन्द्र उच्च मावि पकुवाका लागि पुस्तक, ह्वाइट बोर्डलगायत अन्य शैक्षिक सामग्री, विद्याज्योति मावि माझफाँटकालाई प्रिन्टर र प्रोजेक्टर, काफलचौर उच्च मावि दुर्लुङको लागि पुस्तक, बोर्ड र शैक्षिक सामग्री, खौलालाकुरी मावि खौलाको लागि प्रोजेक्टर र बोर्ड सहयोग गरिएको हो ।

त्यस्तै सदरमुकाममा रहेको शिवालय माविलाई ल्यापटप वितरण गरिएको लायन्स क्लब अफ कुश्मा सिटीकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले जानकारी दिए । भण्डारीले आफ्नो अनुरोध र विशेष पहलमा विद्यालयलाई सहयोग गरेको बताए ।

परिवर्तित युगअनुरुप विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षा दिन सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको भण्डारीको भनाइ छ । क्लबले गरेको उक्त सहयोगले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिका बढी मात्रामा लाभान्वित हुने भएका छन् । रासस