काठमाडौँ– आसन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउने वातावरण सिर्जना गर्नका लागि सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) अहिले वार्ता चलिरहेको छ ।


ADVERTISEMENT


संविधान संशोधनको ग्यारेन्टी नभएसम्म स्थानीय तहको निर्वाचनमा सहभागि नहुने अडान राख्दै आएको राजपालाई फकाउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् । यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए ।


ADVERTISEMENT

# # #


राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।

राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन् । यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ । बिहान नौबजेपछि बोलाइएको उक्त बैठकमा सत्तासाझेदार दलका शीर्ष नेता तथा राजपाका नेताहरु सहभागि छन् । यसअघि शनिबार भएको छलफलमा सहमति हुन सकेको थिएन ।

राजपाले निर्वाचन सार्न प्रस्ताव गरेको शनिबारको बैठकमा सत्तारुढ दलहरुले कुनै हालतमा निर्वाचन सार्न नसकिने बताएको थियो ।