नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को त्रिभुवन विश्वविद्यालका सभापति हरि आचार्यसंग आउँदै गरेको नेविसंघको महाधिवेशन, वर्तमान अवस्था र शैक्षिक एजेण्डाका बारेमा गरिएको कुराकानी –


ADVERTISEMENT


वर्तमान अवस्थामा नेपाल विद्यार्थी संघ कसरी अगाडि बढिरहेको छ ? नयाँ नेतृत्व चयनको प्रक्रिया कहाँसम्म पुग्यो ?


ADVERTISEMENT

# # #


अहिलेसम्म १२ औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व पनि आइसक्नु पर्ने हो । तर ११ औँ महाधिवेशनबाट आएको अहिलेको नेतृत्वले संगठनलाई बलियो बनाउने, युवा, विद्यार्थीका हक हितका लागि आवाज उठाउने भन्दापनि एउटा निश्चित व्यक्ति बलियो हुने हिसाबले गुट उपगुट निर्माण गर्दै गएको छ । जसले गर्दा आमरुपमा नेविसंघप्रतिको समाजको दृष्टिकोण परिवर्तन भएको छ । कताकता बाटो बिराएको नेविसंघ जस्तो आम मानिसले पाएका छन् । त्यो ट्रयाक परिवर्तन गरेर नयाँ बाटोमा जानुपर्छ । अब विद्यार्थी राजनीतिको कार्यशैली नै परिवर्तन गर्नुपर्छ ।

महाधिवेशनको कुरा उठ्दै गर्दा उमेर हद लगायतका विषयहरु सुल्झिन बाँकी नै छ । यस्ता प्राविधिक कुराहरुलाई कसरी सल्टाएर जानुपर्छ ?

पहिलो कुरा, उमेर हद नेपाल विद्यार्थी संघमा आएको छ । राजनीतिक विषयलाई उमेरसंग जोडिनुहुन्न भन्नेमा म किन सचेत छु भने लोकसेवा लड्ने कुरा र राजनीति गर्ने कुरा फरक हो । उमेर हद नै नेविसंघको महाधिवेशन नहुनुको प्रमुख कारण होइन । तर यसलाई चर्चाको विषय बनाइयो । काठमाडौँमा राजनीति गर्ने नेविसंघका दुई चार जनाले बोल्दैमा उमेर हद लाग्ने र नलाग्ने भन्ने होइन । दूरदराजमा जसले नेविसंघ जोगाएको छ, तिनलाई पनि थाहा हुनुपर्यो कि उमेर हद किन लगाउने ? लगाएमा के फाइदा हुन्छ ? भन्ने कुरा सर्वव्यापी रुपमा छलफल नभएसम्म उमेर लाउने कुरा उचित होइन । यसलाई छलफल गरेर टुंग्याउन सकिन्छ ।

उसो भए, महाधिवेशन समयमै हुन्छ ?

महाधिवेशन यतिबेला भइसक्नु पर्ने हो । तर, भएन । अहिले तीन महिना थपिएको अवस्था छ । तीन महिनाभित्र महाधिवेशन सक्ने कि नसक्ने भन्ने कुरा एकातिर छ, अर्कोतिर यो निर्वाचित कमिटीले दुई वर्ष कसरी गुजार्यो भन्ने कुरामा मजस्ता आम विद्यार्थी साथीहरु कन्फ्युज छौँ । एउटा निर्वाचित कमिटीले दुई वर्षसम्म कुनैपनि कलेज, विश्वविद्यालय, जिल्ला, क्षेत्र कुनैपनि ठाउँको अधिवेशन गर्न सकेन । यो भन्दा लाजमर्दो कुरा, योभन्दा पिडादायी कुरा के हुनसक्छ ? यद्दपी अधिवेशनको विकल्प छैन ।

नेविसंघबाट तपाई त्रिभुवन विश्व विद्यालयको नेतृत्व गरिरहनुभएको छ । के छ त्यहाको अवस्था ?

कुनैपनि राज्यको समृद्धिको पछाडी त्यहाँको विश्वविद्यालयको हैसियत जोडिएको हुन्छ । त्रिभुवन विश्व विद्यालयको अवस्था बुझ्दा मात्रै देशको सम्पूर्ण अवस्था बुझ्न सकिन्छ । केही व्यक्तिहरुले विश्वविद्यालयलाई लुटिखाने भाँडो बनाएका कारण विश्वविद्यालय आक्रान्त छ । गुणस्तरीय शिक्षा र पाठ्यक्रम नहुँदा अहिले त्रिभुवन विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगेको छ । यसलाई सुधार गर्न अब सबैले एक ठाउँमा आउनुपर्छ ।

नेविसंघको नेतृत्व गरेर त्यहाँका राजीतिक मुद्दाहरु, शैक्षिक मुद्दाहरु नियाल्दै गर्दा तपाईको अनुभव कस्तो रह्यो ?

व्यक्तिगत रुपमा आफूले सिक्ने, बुझ्ने कुरा त धेरै भए । योसंगै संगठनका तर्फबाट गर्ने कुराहरुमा पनि कहिँ कतै कमजोरी गरेको पनि छैन । हामीले विश्वविद्यालयमा गलत कुराहरुमा सचेतमात्र गराएका छैनौँ, यो छोटो अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै समस्याहरुलाई बाहिर ल्याउने र समाधन गर्नका लागि हामीले पहल गरेका छौँ । यति मात्र होइन, विश्वविद्यालयले विद्यार्थीमात्र होइन, विश्वलाई नै जोड्ने काम गनर्नुपर्छ भने विभिन्न कार्यक्रमहरु गरेका छौँ । विश्वविद्यालयका पदाधिकारीहरुसंग निरन्तर यो विषमा छलफल गरेका छौँ ।

तपाईहरुले केहीसमयदेखि उठाएको शैक्षिक आन्दोलन अहिले मत्थर भएको छ भने राजनीतिक परिस्थिति पनि फरक किसिमले अगाडि बढेको छ । एउटा विद्यार्थी नेताको दृष्टिकोणले यसलाई कसरी नियाल्नु भएको छ ?

शैक्षिक आन्दोलन र राजनीतिक आन्दोलनलाई फरक पाटोबाट नहेरौँ । किनकी राजनीतक आन्दोलनले नै शैक्षिक आन्दोलनका मुद्दा तय गर्ने हो । यस्तै शैक्षिक आन्दोलनले पनि राजनीतिक आन्दोलनका मुद्दा तय गर्ने हो । यी एक आपसमा जोडिएका विषय हुन् । देशमा अहिले दुई तिहाई बहुमतको सरकार छ । तर इतिहासकै शक्तिशाली सरकार हुँदाहुँदै पनि जनचाहना अनुसार सरकार चल्न सकेको छैन । सरकारले जुन डेलिभरी गर्नुपर्ने थियो, त्यो अहिले जनताले पाएको छैन । सरकारले जनतालाई भावनात्मक रुपमा जोडेर, डेलिभरि गरेर, जनताका आवश्यकतालाई महशुस गरेर अगाडि बढेर आफूलाई सुरक्षित गर्ने हो । तर त्यो हुन सकिरहेको छैन । यसले कहीँ न कतै दुर्घटना निम्त्याउँछ जस्तो लाग्छ ।

तपाईको माउ पार्टी नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । देशमा दुईतिहाई बहुमतको सरकार छ । यो बीचमा कांग्रेसले आफ्नो प्रतिपक्षीको भूमिका कसरी निभाउने भन्ने विषयमा तपाईको विचार के हुन्छ ?

प्रतिपक्षी भन्ने बित्तिकै सरकारक र उसका कार्यशैलीको विरोध गर्नुपर्छ भन्ने होइन । प्रतिपक्षी भनेकै लोकतन्त्रमा सरकारका लागि ऐना हो । यदि प्रतिपक्षी (ऐना) नै फोहोरी भयो भने सत्तापक्षले त्यो ऐनामा आफ्नो अनुहार स्पष्ट नदेख्न सक्छ । तर यहाँ सरकारले नै प्रतिपक्षीले सडकमा टायर बाल्नुपर्ने, विरोध प्रदर्शन गर्नुपर्ने स्थितिको सिर्जना गरिरहेको छ । यो कुरा गलत हो । समृद्धिको सपना प्राप्त गर्नका लागि सरकारले पनि प्रतिपक्षीसंग मिलेर अगाडि बढ्नु पर्छ । यस्तै प्रतिपक्षीले पनि सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ । सकारात्मक कुराका लागि सबै एक ठाउँमा आउनुपर्छ । तर सरकारले आफ्नो बाटो बिराएर लोकतन्त्रका आधारभूत कुराहरुमा खेलवाड गर्न खोजेमा, कानुन मिचेर जनतालाई विभिन्न बाहानामा दुःख दिन खोजेमा प्रतिपक्षी पनि चुप लागेर बस्नु हुँदैन ।

निर्वाचनमा आएको परिणमपश्चात नेपाली कांग्रेसको पुर्नर्जागरण गर्नुपर्छ भनेर एक किसिमको तरंग पैदा भयो । त्यसका लागि केही प्रारम्भिक प्रयासहरु पनि भए । तर प्रयाप्त हुन सकेन । अब नेपाली कांग्रेसलाई पूरानै स्थानमा पुर्याउन तपाईहरुको भूमिका के हुन्छ ? कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?

आजको दिनमा सबैभन्दा धेरै उठेको प्रश्न पनि यही हो । कांग्रेसले आजको दिनसम्म जनतालाई के के दियो भन्ने कुराको छलफल गर्न यहाँ आवश्यक छैन । किनकी यो कुरामा सबै जानकार छन् । अब कांग्रेसले जनतालाई के दिने भन्ने कुरा महत्वपूर्ण हो । जनतालाई कांग्रेसका अबका एजेण्डा मन परेमा फेरि सरकारमा आउने हो । तर त्यसका लागि कांग्रेसले फरक तरिकाले विचार विमर्श गर्नुपर्छ । नेपाली कांग्रेसले अब यो कुरामा अडान लिन्छ भन्ने कुरा स्पष्ट हुनुपर्यो । विपी कोइरालाको समाजवादलाई लिएर हामी आज यहाँसम्म आएका हौँ । तर नेपाली कांग्रेस जतिपटक सरकारमा गयो, समाजवाद त्यती टाढा भागेको जस्तो देखियो । अब यसको ख्याल गर्नुपर्छ । यसमा नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने सबैले सहयोग गर्नुपर्छ ।

अबको विद्यार्थी आन्दोलनको विषय के हुन्छ ? नेविसंघको महाधिवेशन पनि अब नजिक आउँदैछ । त्यसका लागि तपाईको तयारी के छ ?

नेतृत्वमा आउने कुरा फरक हो र अबको शैक्षिक मुद्दा के हुनुपर्छ भन्ने कुरा बढी महत्वपूर्ण हो । आजको दिनमा हामीसंग भएका विश्वविद्यालयले पढाउने विषहरुमात्रै प्रयाप्त हुन् त ? यसले हामीले खोजेको समृद्धितिर लैजान्छ त ? लाँदैन । त्यसैले हामीले विषयगतरुमा पनि धेरै कुराहरु नेपालका लागि थप्नु जरुरी छ । त्यसमा पनि सबैभन्दा टड्कारोका रुपमा रहेको हाम्रो सपना भन्ने गरेको रेल पानीजहाजसंग जोडिएको विषय हो ।

रेलको वा पानी जहाजको विषयमा इञ्जिनियररिङ शिक्षा सुरु गर्न सक्नुपर्छ । अनिमात्र जनशक्ति बाहिरबाट ल्याउनुपर्दैन साथै देशमा रोजगारीका अवसर पनि सिर्जना हुन्छ । रेल त हामीले पहिले पनि चलाएको हो नि । तर बिग्रेको बनाउने नहुँदा फेरि जस्ताको त्यस्तै भयो । अब फेरि रेल ल्याएर बिग्रेमा उतैका मेकानिक ल्याउने ? त्यसकारण समय सुहाउँदा र मुलुकको आवश्यकतालाई हेरेर शिक्षा उपलब्ध गराइनुपर्छ ।

जहाँसम्म महाधिवेशनको कुरा छ ।  आवश्यक परेको खण्डमा म आफैपनि अघिबढ्न सक्छु ।

तपाईको पार्टी विभिन्न गुट उपगुटले थलिएको छ । जसको प्रभाव नेविसंघमा पनि परिरहेको जस्तो देखिन्छ । जसले नयाँ आउनेहरुको नेविसंघप्रतिको आकर्षण घटाइरहेको छ । यसका लागि तपाईहरुले के गर्नुहुन्छ ?

यो सबैभन्दा महत्वपूर्ण विषय हो । पार्टीको गुट आज नेविसंघमा मात्रै होइन, एउटा गाउँको, वडाको तहसम्म पनि देखिन्छ । गुटविहीनताको परिकल्पना त म गर्न सक्दिँन र हुँदैन पनि । तर त्यसले संगठनको, संस्थाको उद्देश्यलाई मार्न दिनुहुँदैन । विचारको द्वन्द्व गरेर समस्याको समाधान निकाल्नु पर्ने ठाउँमा आज विभिन्न गुट उपगुट सिर्जना भएका छन् । त्यसलाई जतिसक्दो नियन्त्रण गर्नुपर्छ । जसमा हाम्रो सहयोग रहन्छ नै ।