काठमाडौँ– मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल मात्र ९५ रनमा सिमित बनेको छ ।


ADVERTISEMENT


टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो । ६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।


ADVERTISEMENT

# # #


आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए । कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

हङकङका लागि इशान खानले ४ तथा नदिम अहमदले तीन विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ ।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएर्इ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ ।

मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।