दाङ– नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकामा बौद्धिक क्षेत्र तथा अन्य क्षेत्रमा क्रियाशील महिलाले चिन्ता व्यक्त गरेका छन् । शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ ।


ADVERTISEMENT

# # #


पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका शिक्षिका कालिका रेग्मीले बताईन् । उनले भनिन,“पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोेका लागि मनाउँछन् । तीज आउन केही दिन मात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो । अहिले त तीज आउन एक महिना अगाडि नै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा देख्दा चिन्ता लाग्ने गर्छ ।”

शिक्षिका रेग्मी पनि तीजको व्रत बस्छिन् । उनी दिनभरी व्रत बसेर पूजाराधना गरेर बेलुका फलफुल, दूध पिउछिन् तर कति महिला त श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने देख्दा नरमाइलो लाग्छ । श्रीमान्को खुट्टाको बूढी औंलाको पानी खाने कामचाहिँ आफूले नगर्ने उनको भनाइ छ ।

तीज पर्वलाई आजभोलि फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर निवासी सुटिङ प्रशिक्षक माया रोकाले बताईन् । उनले भनिन्, “यो पर्व आउन धेरै दिन अगाडिदेखि विशेष गरेर बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुने खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्न थालेको छ ।” उनी परापूर्वकालदेखि चलिआएको सो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बसी पूजापाठ गर्छिन् । उहाँ बेलुकीपख दूध तथा फलफूल खाने गरेकी छन् ।

रेग्मी र रोका मात्र होइन तुलसीपुर उपमहानगरपालिका–६ की गृहिणी सुशीला भट्टराईले पनि तीज पर्वलाई सामान्य रुपमा मनाउने सोच बनाएकी छन् । उनले भनिन्, “आजभोलि रेडियो, टेलिभिजनमा बज्ने गीत तथा नृत्य र तीज आउन एक महिना बाँकी रहँदा गरिने कार्यक्रम सुन्दा हेर्दा मलाई नमज्जा लाग्छ”, उनले भनिन्, “तीज आउन चार पाँच दिन अगाडि त्यस्ता कार्यक्रम आयोजना गरे पनि हुुने थियो नि ? यसले त निम्न वर्गका महिलाको त यो चाड होइन कि जस्तो आभाष हुन थालेको छ ।”

तीजमा शैक्षिक, सरसफाइ, जागरणका भाका समेटिएर गीत गाउने गरिन्थ्यो तर अहिले त विकृति अँगाल्नेखाले मात्र गीत नृत्य प्रदर्शनले कतै हाम्रो संस्कृति नै हराउने त होइन भन्ने चिन्ता लाग्ने गरेको भट्टराई बताईन् । यस्तै चिन्ता विजौरी क्याम्पस दाङकी प्रा निर्मला डाँगीलाई पनि छ । उनले भनिन्, “यो पर्वलाई देखासिकीको पर्व, कपडा तथा गहना प्रदर्शन गर्ने र भड्किलो पर्वको रुपमा मनाउने प्रचलन बन्द गर्नु नै पर्छ । यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ ।” रासस