धरान– कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ ।


ADVERTISEMENT


सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार परिवर्तन गरेर २ भदौ ०६५ मा पूर्वतर्फको बस्ती छिर्दा सात हजार पाँच सय ७२ घरपरिवारका ४२ हजार आठ सय विस्थापित भएका थिए ।


ADVERTISEMENT

# # #


कोसीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएको थियो । बाढीपछि गठन भएको कोसी बाढीपीडित उच्चस्तरीय आयोगले सरकारसमक्ष साढे नौ अर्ब बजेट निकासा गर्न सिफारिस गरेको थियो । सो पैसा क्षतिपूर्ति, मुआब्जा र त्यस क्षेत्रको विकासका लागि खर्च गर्ने योजना पनि दिएको थियो ।

सरकारले एक अर्ब ६० करोड रुपैयाँको एकीकृत प्याकेजका रूपमा उपलब्ध गराएको थियो । सोमध्ये केही रकम खर्च हुन बाँकी रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । अधिकांश बाढीपीडितले राहत लगिसकेको उनले दाबी गरे । – आजको नयाँ पत्रिकाबाट