बर्दिया– माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।


ADVERTISEMENT


चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ ।


ADVERTISEMENT

# # #


बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेको उक्त ताललाई सत्खुलवा ताल भनिएको हो ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थान ओगटेको तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समयमा र चैत, वैशाखको खडेरीमा जंगली जनावरको तिर्खा मेट्न तालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ताल संरक्षण समितिले विसं २०७२ देखि तालमा सयर गर्नाका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगाको प्रयोग हुनथालेपछि अहिलेसम्म करीब १० हजार पर्यटकले डुंगाको प्रयोग गरिसकेका छन् । ताल हेर्न रु १० र डुंगा चढ्न रु २५ तिर्नुपर्छ ।

ताल संरक्षण समितिका सचिव राजकुमार थारुले पर्यटकबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरेको बताए । भर्खर संरक्षणको शुरुआत गरिएको सो तालमा रैथाने चराका साथै आगन्तुक चराको संख्या बढ्दै गएको संरक्षणकर्मी सुनील चापागाईंले जानकारी दिए ।

ताल जैविक विविधताका हिसाबले महत्पूर्ण रहेको र मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जंगली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान भएकाले यसमा रैथाने र आगन्तुक चराको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।

राजमार्गको नजिकै भएका कारण निकुञ्ज घुम्न आउने पर्यटक यस तालमा घुम्न जाने गर्दछन् । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीयाममा पानी खान आउने जनावर सजिलै हेर्न पाउने हुँदा यो तालप्रति सबैको आकर्षण बढ्न थालेको हो ।