काठमाडौं–दाङमा खोलाले गुडिरहेको बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन् । घाइते मध्य ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती), दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बसलाई आइतबार साँझ ग्वारखोलाको बाढीले बगाएको हो ।


ADVERTISEMENT


त्यस्तै अन्य घाइतेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बसन्तपुर निवासी १९ वर्षीय मिनबहादुर ओली, रुकुमको धर्मशाला गाउँपालिका निवासी ६५ वर्षीय पूर्ण रोका, दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ३५ बर्षीय खलकुमारी बस्नेत, उनका पति ३२ वर्षीय कर्णबहादुर यरी, दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २२ बर्षीय विजय बुढा, सोही ठाउँकै ५१ वर्षीया ज्योती बुढा, कैलाली जिल्लाको लम्कीचुवा गाउँपालिका वडा नं. ४ निवासी १८ बर्षीय सुवाश चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५० वर्षीया विमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी ३८ वर्षीया दुर्पता परियार, सोही ठाउँकै २८ बर्षीया लक्ष्मी परियार, गाडीका चालक कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा नं. ३ निवासी ५१ बर्षीय पूर्णानन्द भण्डारी र नाम नखुलेका सह–चालक रहेको राप्ती अञ्चल अस्पतालकले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


गम्भीर घाईते ५ जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। कतिपय डिस्चार्ज भइ घर गइसकेका छन् ।

धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै ना ४ ख ८१३६ नम्बरको बस आइतबार साँझ ६ः१० मा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित ग्वारखोलाको बाढीले बगाउँदा उक्त दुर्घटना भएको थियो ।

घटनास्थलमै रहेकी दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले भने दुर्घटनामा परि १९ जना घाइते भएको जानकारी दिइन् । दुई जनाको अवस्था सामान्य रहेको हुँदा घटनास्थलबाटै घर तर्फ लागेको उनले बताइन् । अविरल वर्षापछि जिल्लाका खहरे खोलामा बाढी आएपछि खोलाहरुमा प्रहरी परिचालन गरेर बाढीमा गाडी नहाल्न आग्रह गर्दागर्दै पनि अटेर गरेर बाढीमा गाडी हालेको हुँदा आँखै अगाडि गाडी बगेको एसपी सिंहले बताइन् । ‘म पनि तुलसीपुरबाट घोराहीतर्फ जाँदै थिएँ । बाढीले गर्दा ग्वारखोलामै थिएँ । तर, घोराहीबाट आउँदै गरेको गाडी मेरै अगाडि ग्वारखोलाले बगायो,’ एसपी सिंहले भनिन्, ‘तत्कालै मैले प्रहरीलाई उद्धारमा खटाए र स्थानीयले पनि सहयोग गरे । समयमै स्थानीय र प्रहरीको उद्धारले गर्दा एउटा ठूलो दुर्घटना टरेको छ ।’

गाडीका चालक कैलाली धनगडी उपमहानगरपालिका ३ का ५१ वर्षीय पूर्णानन्द भण्डारीले गाडीको अगाडिको टायरमा केही बस्तु आएर ठोक्किएपछि गाडी बगेको बताएका छन् ।