काठमाडौं– नेदरल्याण्डसंगको पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो रोमाञ्चक खेलमा नेपालले एक रनको रोमाञ्चक जित हात पारेको छ ।


ADVERTISEMENT


४३.३ ओभरमा १८५ मा ९ विकेट गुमाइसकेको अवस्थामा अर्को एक विकेट झार्न नसक्दा खेल अन्तिम बलसम्म गएको थियो । तर अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा बलिङमा आएका कप्तान पारसले सनसनीपूर्ण प्रदर्शन गरे । उनले अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फ्रेडेरिक क्लासेनलाई रन आउट गरेर नेपाललाई पहिलो एक दिवसीय जित दिलाए ।


ADVERTISEMENT

# # #


एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग टस जितेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन बनायो । २ सय १७ रनको लक्ष्य पच्छ्याएको नेदरल्याण्डले निर्धारित ५० ओभर खेलेर सबै विकेट गुमाउँदै २१५ रन मात्रै बनायो ।

यसअघि नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए ।

शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।

पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो । ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो ।

२९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।

३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औँ ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए ।

आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एकरएक विकेट लिए ।

यता नेदरल्याण्डका लागि विल्से वारेसीले सर्वाधिक ७१ रन प्रहार गरे । ८९ बल खेलेका उनले दिपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लुको धरापमा पर्नुअघि ८ चौका प्रहार गरेका थिए । डेनाइल ब्राकले ३९ रन बनाए । कप्तान पिटर सिलर २१, बिन कपुर १९, सेन स्नाटरले १२ रन बनाए । यस्तै फ्रेडेरिक क्लासेन १३ रन बनाएर रन आउट भए भने पौल भान माक्रिन १२ रनमा नटआउट रहे ।

अन्तिम विकेटको लागि नेदरल्याण्डका फ्रेडेरिक क्लासेन र पौल भान माक्रिनले ३९ बलमा ३० रनको साझेदारी गरेपनि खेल अन्तिम बलसम्म पुगेको थियो ।

यता नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४१ रन खर्चिए । यस्तै ललितसिंह भण्डारीले २ तथा सोमपाल कामी, पारस, वसन्त रेग्मी र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

खेलको ‘म्यान अफ दि म्याच’ सोमपाल कामी चुनिए । यस अघि नेदरल्याण्डसंग ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा जित हासिल गरेसंगै पहिलो ऐतिहासिक एकदिवसीय सिरिज बराबरी भएको छ ।