काठमाडौँ– थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।


ADVERTISEMENT


इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सञ्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रवीन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन् । सुमित्रा, उमेश र सञ्जयबाहेक सबै एसियाडका लागि छनोट भएका खेलाडी हुन् ।

एसियाडकै लागि छनोट भएकी १२ औँं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिएका छन् । खत्री एसियाडका साथै टोकियो ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा रहेकी छिन् ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले आज त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा सदस्य सचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताएका छन् ।

सदस्य सचिव विष्टले जुडो पनि पदकको आशा गरिएको खेलमा राखिएको बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी हालसम्म एसियाली खेलकूदमा जुडोले प्राप्त गर्न नसकेको पदकको खडेरी तोड्दै इतिहास रच्न शुभकामना दिए ।