बाँके– नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।


ADVERTISEMENT


पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ ।


ADVERTISEMENT

# # #


निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु २० करोड लागत अनुमानमा ठेक्का लिएको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर सुरजकुमार गुप्ताले बताएका छन् । साढे चार बिगाह क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो ।

बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो । निर्माण कम्पनीले मुख्यद्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ ।

इञ्जिनियर गुप्ताले भने, “समयमै ठेकेदारले काम नसकेकाले दोस्रो पटक म्याद थप गरिसकिएको छ ।” उनका अनुसार यही वैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ । तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन ।

निर्माण शुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको दुई महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ । रासस