भक्तपुर– “अस्पतालमा हड्ताल होला, उपचार नपाइएला कि भन्ठानेको थिएँ, भक्तपुरमा त त्यस्तो रैनछ, उपचार गरेर फर्कंदैछु”, काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पतालमा उपचार गराउन आएकी ४८ वर्षीया सीता शर्माले खुशी व्यक्त गरिन् ।


ADVERTISEMENT


अस्पतालमा हड्ताल छ भन्ने सुने पनि रोगले दुःख दिएपछि अस्पताल आएको बताउँदै उनले भनिन्, “हामी गरीबले जाने सरकारी अस्पताल नै हो, गएपछि जे त होला भनेर श्रीमान्ले भन्नुभयो, अनि सँगै आयौँ, एक घण्टामै डाक्टर देखाउने पालो आयो ।”


ADVERTISEMENT

# # #


अस्पतालमा हड्ताल छ भनेर केही समाचारमाध्यमले समाचार बनाएकै भरमा गरीब बिरामी अस्पताल नआई घरमै बसिरहेको भक्तपुर अस्पताल आएका प्रकाश तामाङले बताभने । घरमा श्रीमती राधिका भाइरल ज्वरोले थलिएको तीन दिनपछि भक्तपुर अस्पताल आएका काभ्रे नैचालका खड्काले आज भने श्रीमतीको उपचार गराउन पाइएको बताए । उनले भने, “भाइरल ज्वरोले गाउँमा चार जना बिरामी छन्, अस्पताल बन्द छ भनेर एफएममा सुनियो, होइन पो रैछ, अस्पताल आएपछि थाहा भयो, गाउँमा गएर सबैलाई उपचार गर्न अस्पताल पठाउँछु ।”

भक्तपुर अस्पतालकी सुपरिटेण्डेण्ट डा सुधा देवकोटाले बिरामीको उपचार गर्ने अधिकारलाई अस्पतालले कुण्ठित नपारेको बताइन् । उनले भनिन्, “आन्दोलन आफ्नै ठाउँमा छ, आन्दोलन भनेर अस्पताल आएका बिरामीको उपचार नगरी फर्काउनु त भएनन् नि, त्यसैले उपचार गराएका छौँ ।”

अस्पतालमा कुनै पनि सेवा बन्द नभएको बताउँदै उनले भनिन्, “अस्पतालमा नियमित रुपमा बहिरंग, अन्तरंग सेवा सञ्चालन भइरहेको छ, ल्याब, एक्स–रे, प्रसूति सेवादेखि शल्यक्रियासम्मको सेवा सञ्चालन भइरहेको छ ।”

प्रा डा गोविन्द केसीको अनशनको विषयलाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरे पनि भक्तपुरका अस्पतालमा त्यसको प्रभाव परेको छैन । डा देवकोटाले भक्तपुर अस्पतालमा एक्स–रे, प्रयोगशालालगायत सेवामा बिरामीको चाप बढेको बताउँदै अस्पताल आउने बिरामीले उपचार नपाई फर्कनुपर्ने अवस्था आउँदैन भनिन् ।

भक्तपुरकै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि निरन्तर सेवा प्रवाह भइरहेको छ । मिर्गौला प्रत्यारोपण र डायलोसिस गर्ने बिरामीको अत्यधिक चाप बढेको सो अस्पतालमा कुनै पनि सेवा नरोकिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनले भने, “जीवनरक्षाका लागि उपचारमा आएका बिरामीलाई हामी डाक्टरले कसरी फर्काउन सक्छौँ ? हाम्रो धर्म नै उपचार गर्ने हो, उपचारमा तल्लीन छौँ ।” संघले घोषणा गरेको आन्दोलनप्रति यहाँका चिकित्सकको समर्थन रहेकाले दुई दिन बाहिर खुला चौरमा बिरामीको स्वास्थ्य परीक्षण गरिए पनि तेस्रो दिनदेखि भने नियमित रुपमा सबै सेवा सञ्चालन भएको छ ।

आन्दोलनका नाममा बिरामी फर्काउनु चिकित्सकको धर्मविपरीत र गलत कदम भएकाले संघको मागप्रति मौन समर्थन जनाउँदै सेवा सञ्चालन गरिएको केन्द्रका चिकित्सकको भनाइ छ । जिल्लामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा पनि कुनै सेवा बन्द भएको छैन । शुरुको एक दिन उपचारमा केही प्रभाव परे पनि दोस्रो दिनदेखि नियमित रुपमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले अस्पतालमा कुनै सेवा बन्द नगरी बहिरंग विभागदेखि शल्यक्रियासमेतको सेवा सञ्चालन भइरहेको बताए। भक्तपुरमा बाल अस्पतालका रुपमा परिचित सिद्धि स्मृति अस्पतालले पनि सेवा सञ्चालन गरिरहेको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष श्यामसुन्दर धौभडेलले चिकित्सकको आन्दोलनमा समर्थन भए पनि सेवा भने नरोकिएको बताए । उनले भने, “बिरामीले उपचार पाउनु उसको अधिकार हो, उपचार नै नपाई बिरामीको ज्यान जाने अवस्था सिर्जना गर्नुहुँदैन, त्यसो गर्नु ठूलो अपराध हो, त्यसैले विरोध आफ्नै ठाउँमा छ, उपचार आफ्नै ठाउँमा छ, उपचार निरन्तर चलिरहन्छ ।”

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री अस्पतालमा पनि स्वतःस्फूर्त रुपमा चिकित्सकले बिरामी हेर्ने र उपचार गर्ने गरेका छन्। आन्दोलनका क्रममा शुरुको एक दिन आकस्मिक कक्ष मात्रै सञ्चालन गरिए पनि अर्को दिन अस्पतालका निर्देशक डा ज्ञानकृष्ण कायस्थले अस्पतालका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै यहाँका चिकित्सक नियमित सेवामा फर्किएका छन् ।

भक्तपुरका अधिकांश अस्पतालका चिकित्सकले विरामीको ज्यानै जाने गरी आन्दोलन गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । यहाँका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्दै गरेका चिकित्सकले मानिसको जिन्दगीसँग खेलबाड गर्ने गरी आन्दोलन गर्नु गलत भएको बताउँदै आन्दोलनको शैलीलाई परिवर्तन गर्दै अस्पतालमा हुने हड्ताल सधैँका लागि बन्द गर्नुपर्नेमा जोड दिएका छन् । –रमेश गिरी/रासस