नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संगठनको रुपमा रहेको नेपाल प्रेस युनियन यतिबेला नयाँ नेतृत्व चयनको लागि महाधिवेशन गर्ने संघारमा छ । भदौँ २४ लाई तोकिएको महाधिवेशनको तयारी कती भयो ? नयाँ नेतृत्व कसरी चयन हुनुपर्छ र कस्तो हुनुपर्छ ? युनियनको वर्तमान अवस्था र आगामी रणनीतिका बारेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीसंग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


अहिलेको अवस्थामा प्रेस युनियनको हालखबर के छ ? कसरी अगाडि बढिरहेको छ युनियन ?


ADVERTISEMENT

# # #


साउन ९ गते हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसको भोलिपल्टै देशभरि रहेका हाम्रा शाखा सभापतिहरुको राष्ट्रिय भेला पनि गर्दैछौँ । यसअघि हामी केन्द्रीय समितिको बैठकमा पेस गर्ने गरी विधान संशोधन समिति र सचिवालयको बैठक बसेर विधानलाई अन्तिम रुप दिएर केन्द्रीय समितिबाट अनुमोदन गर्नेछौँ । अन्तिम डेटलाइन भदौ २४ गतेभित्रै केन्द्रीय महाधिवेशन गर्ने वातावरण तयार गर्दैछौँ ।अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण ध्यान भनेको भदौ २४ भित्र केन्द्रीय महाधिवेशन गराउनेतर्फ छ ।

कस्तो आउँदैछ नयाँ विधान ?

यसअघि केही कमिटीका मिटिङ बसेका छन् । त्यसमा विभिन्न किसिमका चर्चा र प्रस्तावहरु आए । त्यसको अन्तिम रुपमा केन्द्रीय समितिको बैठमा दफावार छलफल हुँदैछ । नयाँ विधान संघीय ढाँचाको प्रदेशिक संरचना अनुसार हुनुपर्छ भन्ने कुरामा हामी गृहकार्य गरिरहेका छौँ । अर्को अहिले प्रत्यक्ष निर्वाचन प्रणालीको कुरा पनि आइरहेको छ । यसमा हामी विचार गर्छौँ ।

नयाँ नेतृत्वको चयनको प्रक्रिया अगाडि बढिरहँदा तपाई अहिले महासचिव हुनुहुन्छ । अबको नेतृत्व कस्तो आइदिए हुन्छ जस्तो लाग्छ ? 

अब नयाँ नेतृत्व कस्तो आउनुपर्छ भन्ने सवालमा महाधिवेशनका प्रतिनिधिमा निर्भर हुने कुरा हो । हामीलाई आजको दिनमा सुदृढ प्रेस युनियन चाहिएको छ । आजको दिनमा लोकतन्त्र र प्रेस स्वतन्त्रताका आधारभूत मूल्य मान्यतामाथि प्रहार भएको छ । यो बेलामा हामी ती प्रहारविरुद्ध उभिएर लड्न सक्ने नेतृत्व चाहिएको हो । अहिले मिडिया हाउसमा प्रहार भएको छ । पत्रकार पथि प्रहार भएको छ । अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रहार भएको छ । सानो लगानीका मिडियाहरुमाथि प्रहार भइरहेको छ । आफ्नोभन्दा फरक मत राख्नेलाई अहिलेको सरकारले दबाउने प्रयास गरिरहेको छ । यो अवस्थामा ती सबै कुरालाई प्रतिरोध गरेर संगठनलाई अगाडि लैजाने नेतृत्व चाहिएको हो ।

यसमा तपाईको तयारी के छ ? 

यसका लागि जो मानिस उपयुक्त हुन्छ उसले दाबेदारी दिनसक्छ । यसमा मेरो कुरा गर्नुपर्दा उम्मेदवारी भन्दा पनि दाबेदारी स्वभाविक रुपमा अध्यक्षमा नै हुन्छ । संगठनलाई मैँले यो गतिका साथ अगाडी लैजानसक्छु भन्ने विश्वास छ । यो टिम स्प्रिट हो । नेतृत्व एक्लैले भन्दा पनि टिमले गर्ने हो । स्वच्छ मनका साथ प्रेस युनियनलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो । संगठनलाई कसरी अगाडि बढाउने भन्ने एक किसिमको अनुभव पनि भइसकेको छ । यदि नेतृत्वको जिम्मेवारी आयो भने सहजतापूर्वक सम्हाल्न सकिन्छ भन्ने लाग्छ ।

तपाईले महासचिवको कार्यकाल पूरा गरिसक्नु भएको छ । यो कार्यकालमा के काम गर्नु भयो ? नयाँ नेतृत्वको दाबेदारिताको आधार के हो ?

नेतृत्वको लागि अहिले नै दाबेदारिता भन्नु हतार नै होला । यद्दपी महासचिव भइसकेको मानिस नेतृत्वमा आओस् भन्ने साथीहरुको चाहाना होला । नेपाल प्रेस युनियनको महासचिव भएर आजको दिनमा यहाँसम्म आइपुगुञ्जेलसम्म मैँले भन्दै आइरहेको छु प्रेस युनियन सुदृढ हुनुपर्छ भनेर । सबैले एक अर्कासंग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने भावनाको मानिस हुँ । अहिले एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था छ । यो हामी अब हुन दिँदैनौँ । यो वा त्यो गुटको नाममा राजनीति गर्न पाईँदैन भन्ने हाम्रो भनाई हो । आफ्नो संगठनका सदस्यमा परेका समस्याको समाधानका लागि राष्ट्रिय र अन्तराष्ट्रियरुपमा हामीले उठाइरहेका छौँ ।

अहिले हाम्रो सरकारको रुपमा रहेको पत्रकार महासंघ हो । त्यसको नेतृत्वका लागि हामीले बहुसंख्यक साथीहरु पठाएका छौँ । भलै हामीले अध्यक्ष पठाउन सकेनौँ । त्यसका धेरै कारण छन् । पत्रकार महासंघमा पनि हाम्रो प्रतिनिधित्व भएको छ । आज पत्रकारको सत्तामा नेपाल प्रेस युनियन पनि सहभागी भएको छ । यी काम पनि हामीले गरेका छौँ । यो भन्दा अझ राम्रा काम गर्ने प्रतिवद्धता पनि हामी गर्छौँ ।

प्रेस युनियनको महाधिवेशनमा पार्टीको हस्तक्षेप हुन्छ, विगतमा पनि यस्तै गरी नेतृत्व चयन गरियो भन्ने सुनिन्छ । अब के हुन्छ ?

हिजो विभिन्न कारणले त्यस्तो भएको थियो होला । तर हामी के विश्वास दिलाउन चाहान्छौँ भने नेपाल प्रेस युनियनको अहिलेको नेतृत्व पार्टी नेतृत्वलाई महाधिवेशन गर्न सकनौँ, तपाईहरुले टिका लगाएर नयाँ नेतृत्व छान्नुस् भन्नेतर्फ पुर्याउन हामी खाजिरहेका छैनौँ । सचेततापूर्वक नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी हामी तयारी गरिरहेका छौँ । त्यसका लागि प्राविधिक तथा आन्तरिक तयारी भइरहेको छ । त्यस कारण पार्टीले पनि यसलाई जुँगाको लडाईँ बनाउला जस्तो लाग्दैन ।

अन्त्यमा, नेपाली कांग्रेस अहिले प्रतिपक्षी भएर बसेको छ । तपाई त्यस निकट संगठनको महामसचिव हुनुहुन्छ । कांग्रेसले सरकार अधिनायकवाद तर्फ गयो भनिरहेका बेला तपाईहरु प्रेस युनियनको नेतृत्वको एजेण्डा के हुन्छ ? अथवा श्रमजीवी पत्रकारका हकहितको रक्षाका लागि के गर्नुहुन्छ ?

श्रमजीवी पत्रकारका बारेमा त हाम्रो विगतको जुन दृष्टिकोण थियो त्यही नै रहन्छ । अहिले हामी दबाब सिर्जना गर्ने पोजिसनमा मात्रै छौँ । नेपाली कांग्रेस सरकारमा रहँदा कतिपय कुराहरु लगाू भए होलान्, कतिपय कार्यान्वयनको चरणमा रहेका थिए होलान् । तिनलाई आजको दिनमा पनि लागू गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

दोस्रो कुरा जुन अधिनायकवादको छ । हामीले यस अघि पनि अधिनायकवाद बाजा बजाएर आउँदैन, यसका निर्णय प्रक्रियामा देखिनेछ भनेका थियौँ । अधिनायकवाद आउँदै गर्दा त्यसका दूसपरिणामहरुलाई लिएर हामी जनतामाझ जाने काम गर्नेछौँ । कतिपय अवस्थामा आफ्नो कलममार्फत दबाब दिनुपर्ला भने कतिपय अवस्थामा मोर्चाका रुपमा सडकमा आउनु पर्ने हुनसक्ला । यो अधिनायकवाद सत्ताको सोचको विरुद्ध हामी लडिरहन्छौँ ।