रसुवा– उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको छ । बाँकी सुरुङ निर्माणको काम दु्रत गतीमा भइरहेको छ ।


ADVERTISEMENT

# # #


सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई प्रवाह नगरी रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने तथा विद्युत्गृहमा उपकरण जडानको प्रक्रिया अगाडि बढिसकेको छ । सन् २०२० को फेबु्रअरीसम्म निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउन आयोजनाका ३३ प्राविधिक, चिनियाँ २४५ लगायत ७०० कामदार कार्यरत रहेको कम्पनीले जनाएको छ ।

बाहिरी भागमा भोटेकोशीको बाँध मात्र देखिने र ठूल्ठूला डिसेन्डर पोखरीसमेतका संरचना भूमिगत रहने, रसुवागढी हाइड्रोपावरको हेडरेस सुरुङको लम्बाई चार हजार २०२ मिटर पेनस्टक १३३ र टेलरेस सुरुङको दूरी ७१३ मिटर रहेको छ । तीमध्ये पानी ल्याउने हेडरेस सुरुङको काम भने १४० मिटर मात्र बाँकी छ ।

काममा संलग्न प्राविधिक र ठेकेदार कम्पनी सिडब्लुई चाइनाले रेडरेस सुरुङ निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको छ । सम्रगमा रसुवागढीको काम ६७ प्रतिशत पूरा भएको छ ।

वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युत्गृहमा ८० घनमिटर पानी पुर्याई त्यहाँ जडान हुने तीनवटा टरवाइनमध्ये प्रत्येक टरवाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले जानकारी दिए।

सन् २०१४ देखि निर्माण शुरु भएको रसुवागढी विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, भूकम्प, टिमुरे–स्याफ्रुखण्डको लिङलिङ सडकमा पहिरोका कारण निर्माणको अवधि दुई वर्ष लम्बिन गएको र अबको काम भने निर्धारित समयमै सम्पन्न गर्ने दृढ अठोट लिई उत्साहित तवरले सबै प्राविधिक अगाडि बढिरहेको आयोजना प्रमुख गैरेले बताए ।

रसुवागढी आयोजनाको निर्माणमा सहजीकरणका लागि कर्मचारी सञ्चयकोषले रु छ अर्ब ८४ करोड ऋण प्रवाह गरेको र रु छ अर्ब ८४ करोड भने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका स्थानीय तह र रसुवावासी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र सर्वसाधरणको शेयर रहने बताउँदै रसुवागढीका प्रबन्ध निर्देशक माधव कोइरालाले विद्युत् उत्पादन भएको १० वर्षभित्र आयोजना निर्माणमा लिएको ऋण चुक्ता गरिसक्ने बताए ।

विद्युत् प्रतियुनिट पुस, माघ, फागुन र चैतमा आठ रुपैयाँ ४० पैसा तथा अन्य महिनामा चार रुपैयाँ ८० पैसाको दरले बिक्री हुने भएकाले वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य राखिएको प्रबन्ध निर्देशक कोइरालाले बताए ।

विद्युत् शेयर खरिदकर्ताले शेयर पाएको तीन वर्ष नपुगेसम्म बिक्री वितरण गर्न नपाउने विद्युत् उत्पादन गर्न अब दुई वर्ष लाग्ने र अहिलेको विद्युत् शेयर खरिदकर्तालाई भने विद्युत् उत्पादन भएको एकवर्ष पछि नै दरभाउ बढेको बेला बिक्री वितरण गर्न सहज हुने बताइएको छ ।