बागलुङ– धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पुर्याउने लक्ष्य छ ।


ADVERTISEMENT


सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको र छिट्टै धवलागिरिभरि गुणस्तरीय सेवा पुर्याइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । सेवा अपुग रहेको ठाउँबाट माग भई आएमा तत्काल सम्बोधन गर्न दर्जन भन्दा बढी ठाउँमा टावर निर्माणाधीन अवस्थामा रहेको र कतिपय ठाउँको सम्झौता भई उपकरण आउने चरणमा रहेको उनले जानकारी दिए।


ADVERTISEMENT

# # #


चारै जिल्लाका दुर्गम भेगमा टेलिकमको सेवा प्रभावकारी हुन नसकेको जनगुनासो बढेपछि टेलिकमले काम तीव्र बनाएको हो । म्याग्दीको दाना, मुना बागलुङको बिनामारे, निसी, बोवाङलगायत ठाउँमा हालै मात्र सेवा पुगेको छ । दरमुकाम र बजार क्षेत्रबाट नजिक भएर पनि स्तरीय सेवाबाट वञ्चित ठाउँमा समेत टावर निर्माण भइरहेको छ । नयाँ ‘जिएसएम, बिटियस’ टावर बागलुङको खुङ्गा, दुदिलाभाटी, रायडाँडा, पैंयुपाटा, भीमापोखरा, भकुण्डे, पर्वतको लेखफाँट, लुङ्खु देउराली, मुडीकुवा, म्याग्दीको गुर्जा, चराङ, तिप्ल्याङ, तातापानी, मुस्ताङको घासा, खर्साङ्गलगायत ठाउँमा टावर निर्माण हुने अवस्थामा छ ।

नयाँ बन्ने सबै टावर सञ्चालनमा आएपछि चारै जिल्लाका सम्पूर्ण ठाउँमा मोबाइल सेवाको पहुँच पुग्ने जनाइएको छ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताए । नयाँ थप गरिएको प्रविधिबाट ‘भ्वाइस’ र ‘डाटा’ दुवैमा ग्राहकले गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । मोबाइल सेवा पुगेसँगै ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् ।

इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारलाई समेत सँगसँगै लगिएको इन्जिनियर नेपालले उल्लेख गरे। धवलागिरिमा ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारीमा टेलिकम छ । अहिले ५० भन्दा बढी ठाउँबाट सेवा प्रवाह भइरहेको जनाइएको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ । पुरानो ‘टुजी’ सेवामा पनि स्तरोन्नतिको काम भइरहेको छ ।