काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री ज्ञवालीले, ‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विद्येयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनशन स्थगन् गर्नुपर्छ।’


ADVERTISEMENT

# # #


उनले पहिले डा. केसीको जीवन रक्षाको गर्नु पर्ने भन्दै सरकारले उनलाई लिन हेलिकोप्टर पठाएपनि स्थानीयले अवरोध गरेका कारण स्थित तनावग्रस्त भएको बताए । उनले भने, ‘डा केसीको उपचारका लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाए थियो । तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिईएन । उहाँको जीवन रक्षाका लागि हामीले हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं।’

सरकारले बिहीबार जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै उनले केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेको बताए । उनले भने, ‘अस्पतालमा ढुंगामुढा गरेको जवाफदेहीता कसले लिन्छ ? उहाँ असल मनशायले अनशन बस्नुभएको होला, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन् । यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ।’

सरकार वार्ता गर्न सँधै तयार रहेको र वार्ता टोलि गठन गरेको बताउँदै उनले कसैले डा. केसीको आन्दोलनलाइ राजनीतिकरण गर्न खोज्छ भने आफुलाई स्विकार्य नहुने बताए । उनले भने, ‘हामी वार्ता गर्न सदैव तयार छौं । उहाँले अनशन स्थगित गर्नुपर्छ’ डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको उनको विश्वास छ ।

यस्तै माथेमा आयोगले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओली हुँदा नै प्रतिवेदनको मस्यौदा बनाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले अहिलेको समयमा माथेमा प्रतिवेनदमा पनि केही परिवर्तन गर्नुपर्ने आवश्यक देखिएकाले चिकित्सा शिक्षा विध्येयक संसदमा दर्ता गर्नु परेको बताए ।’ चित्त नबुझेका ठाउँमा संसदमा छलफल गरेर परिमार्जन गर्न सकिने भन्दै उनले तर सडकबाटै विध्येयक परिमार्जन हुन नसक्ने बताए ।

यस्तै मन्त्री ज्ञवालीले भारतका लागि राजदुत नियुक्तीका लागि सिफारिश संविधान विपरित नभएको जिकिर गरेका छन् । उनले भने, ‘कसले भन्यो राजदुत नियुक्ती संविधान विपरित भनेर ? म सबैलाई संविधान पढ्न आग्रह गर्छु, राजदुत राजनीतिक पद हो, सरकारले नियुक्ती गर्न सक्छ, यो सिफारिश संविधानसम्मत् छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण सम्पन्न गरेको उल्लेख गर्दै अब छिट्टै अन्य मुलुकको पनि भ्रमण गर्ने तयारी गरिरहेको मन्त्री ज्ञवालीले जनाए । वर्षातको बेलामा बनेका विभिन्न संरचनाहरुले नेपाल तर्फका डुबान समस्या सप्तरीको तिलाठीदेखि पर्सासम्म र नवलपरासीमा देखिएको डुबान समस्या समाधान गर्नको लागि संयुक्त टोलीले अध्ययन र पहल गरिरहेको उनले जानकारी दिए ।