दमक– चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् ।चिनिया प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आजदेखि सर्वेक्षण शुरु गरेका हुन् । तीमध्ये केही पूर्वाधार विज्ञ छन् ।


ADVERTISEMENT


टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको वस्तुस्थितिको अध्ययन गर्नेछ । टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गर्यो ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदीको बहाव नियन्त्रण गर्न गुरुयोजना बनाउन चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो ।

टोलीले नदीहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम शुरु गर्ने सरकारको योजना छ ।

चिनिया टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि आएको बताए ।

टोलीले समग्रमा झापाका नौवटा मुख्य नदीहरूको वस्तुस्थितिको अध्ययन गर्नुका साथै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाका मागको समेत अध्ययन गर्ने उनले जानकारी दिए ।

यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हुँदैआएका छन् ।