काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख सदस्य एवम् भेट्रान बलर शक्तिप्रसाद गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यूरोप भ्रमण जानुअघि आज काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले यस्तो घोषणा गरेका हुन् ।


ADVERTISEMENT


नेपालले साउन १३ मा इङल्याण्डको प्रख्यात क्रिकेट मैदान लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ ।


ADVERTISEMENT

# # #


लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । त्यसका लागि अन्तिम १५ मा परेका शक्तिसहितको नेपाली टिम भोलि इङल्याण्ड प्रस्थान गर्नेछ ।

शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनसक्छ । यद्दपी शक्तिले भने नेपालमा हुने कुनै एउटा अन्तराष्ट्रिय फ्रेन्डसिप म्याच खेलेपछि सन्यास लिने संकेत गरेका छन् ।

यस्तो छ शक्तिको जीवनी

वि सं २०४१ बैशाख १०गते भैरहवाकामा जन्मिएका दायाँ हाते लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।

‘बाबु’, ‘शक्ति- द पावर’, ‘घुचु’, ‘हुटिया’ उपनामले चिनिने शक्तिले सन् २००२ मा भएको एसीसी ट्रफीमा ओमनविरुद्ध नेपाली राष्ट्रिय टोलिबाट डेब्यू गरेका थिए । अन्तराष्ट्रिय खेलमा ह्याट्रिक लिने नेपाली राष्ट्रिय टिमका पहिलो खेलाडी शक्तिले नेपाली क्रिकेटका लागि १६ वर्ष बिताएका छन् ।

शक्ति अन्तराष्ट्रिय शतक हान्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले २००५ मा इटाली विरुद्ध शतक प्रहार गरेका थिए । १६ मार्च २०१४ मा ििवश्वकप अन्तर्गत हङकङविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टि–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गरेका शक्तिले त्यो खेलमा ४ ओभरमा ९ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यो खेलमा शक्ति ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए ।

विभिन्न कठिन मोडमा शक्तिले राष्ट्रिय टोलीलाई आफ्नो स्पीनको जादूमयी बलिङबाट जित दिलाएका छन् । ९ ओटा अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शक्तिले ५ दशमलव ६३ को इकोनोमीमा ८ विकेट लिएका छन् । कम रन दिने भएकै कारण उनलाई लोभी बलरका नामले पनि चिनिन्छ ।

इन्डियन प्रिमीयर लिग (आईपीएल)मा राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएपछि चर्चामा आएका उनी एसोसिएएट क्रिकेटमा चलाख, भरपर्दा र विश्वस्तरीय स्पीनर हुन् । बसन्त रेग्मीसंग लामो समयसम्म बलिङमा जोडि बाँधेका शक्ति अहिले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको संघारमा आइपुगेका छन् ।

नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप सहभागी हुँदै अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाउँदासम्मका सारथी बनेका शक्ति यही मान्यताको पहिलो सिरिजबाट नै ऐतिहासिक सन्यास लिने मनसायमा पुगेका छन् ।

शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका शक्ति बाँकी जीवन पनि क्रिकेटकै लागि खर्च गर्ने बताउँछन् ।