काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ । हिजोदेखि लगातार आज बिहान साढे चारसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


तलब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७ लाख ४५ हजार १ सय ५० अर्थात मासिक नेपाली १ लाख ६८ हजार भन्दा बढी रूपैया पाउनेछन् ।


ADVERTISEMENT

# # #


गत वर्ष प्रतिघण्टा ७५३० वोन ज्याला थियो । ज्याला निर्धारण मजदुर युनियनका पाँच सदस्य, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधिसहित २७ जनाको कमिटिले गर्ने गर्छ । हिजो सेजङमा न्यूनतम ज्याला वृद्धि गर्न विषयमा अन्तिम वार्ता भएको थियो । वार्तामा मजदुर पक्षधरले ८६८० वोन र सरोकारवाला निकाय पक्षधरले ८३५० वोन वृद्धि गर्नुपर्ने पक्षमा थिए । यद्यपी मजदुर युनियनहरुले प्रतिघण्टा १० हजार वोन वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको छ । राष्ट्रपति मूनले सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

राष्ट्रपतिको प्रतिबद्धता अनुरुप न्यूनतम ज्याला वृद्धि भएसँगै यहाँ कार्यरत नेपाली सहितका इपिएस र कोरियन कामदार खुसी भएका छन् ।

हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।