रत्ननगर, चितवन– नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ ।


ADVERTISEMENT


नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन् । यहाँबाट विभिन्न देशमा २६ गैंडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप दुई गैँडा चीनलाई उपहार स्वरुप हस्तान्तरण गरे ।

“नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने प्रस्ट छ, यस्ता उपहारले दुई देश बीच सम्बन्ध विस्तारसँगै वन्यजन्तुको संरक्षणमा योगदान पनि दिन्छ,” प्रमुख संरक्षण अधिकृत ढकालले भने ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । आज मात्रै नेपाल सरकारले जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामका एक जोडी गैंडालाई उपहार दिएको हो । निर्णय भएको दुई वर्ष दुई दिनपछि यसरी गैंडा उपहार दिइएको हो ।

नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्याँक छ ।

यस्तै, अन्य कतिपय देशलाई गोहीसमेत दिइएको थियो । गैंडा उपहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनाका साथै वन र वन्यजन्तु संरक्षणका लागि कोशेढुंगा साबित भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको भनाइ छ । डा गैरे प्राकृतिक रुपमा नेपाल धनी रहेको कुरा उपहारले प्रस्ट पार्ने बताउँछन् । “यसलाई कायम राख्न यहाँका संरक्षित क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको खाँचो छ,” उनी बताउँछन्

चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन यसरी आफूसँग भएको महत्वपूर्ण चीज अन्य देशलाई उपहार दिनु सकारात्मक भएको बताउँछन् । “हामी पनि त केही दिन सक्दा रहेछौँ नि, उपहार आदानप्रदानले समृद्धिको आधार पनि खडा गर्छ,” नगरप्रमुख वनले भने ।

परिवारका एक सदस्यले जस्तै गरी संरक्षण गरिएको गैँडाले पनि दौत्य सम्बन्ध थप मजबुत पार्ने विश्वास लिइएको छ । घरको छोरीलाई बेहुली बनाएर पठाए जस्तै महसुश भएको बताउँदै वनले भने, “रुपसी–भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस् ।”

“प्राकृतिक स्रोत साधनमा धनी हामी दिनसक्ने भएका छौँ,” चितवनका संरक्षणकर्मी एवं चराविज्ञ टीका गिरी भने – “साख जोगाउन उपहार पाएका देशको समेत दायित्व बढेको हुन्छ ।”

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपहार दिइएको गैंडालाई जतनसँग सम्हालेर राख्न चीनलाई अनुरोध गरे । यसले नेपालको दिगो संरक्षणमा योगदान दिने आशा उनको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घरपरिवार र आफन्त गुमाएर संरक्षण गरिएको गैंडालाई मन कुँड्याएर उपहार दिएकाले संरक्षणमा योगदान दिने विश्वास व्यक्त गर्छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका संरक्षण अधिकारीहरुबाट उपयुक्त स्थान पहिचान भएपछि गैंडा उपहार दिइएकाले गैंडा हुर्कने विश्वास दिलाए । अन्य देशमा उपहार दिइएका गैंडाको संख्या वृद्धि भएको उहाँको भनाइ छ । – नारायण ढुंगाना/रासस