तेह्रथुम– दुई वर्षअघि नै मार्ग खुलिसकेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको तेह्रथुम खण्डमा अहिले स्तरोन्नतिदेखि कालोपत्रसम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम नगर्ने गरेका कारण सडक निर्माण सुस्त गतिमा भइरहेको छ ।


ADVERTISEMENT


कतिपय ठाउँमा मुआब्जा वितरण र रुख कटानमा समस्यालगायतले पनि अवरोध पुर्याएको निर्माण कम्पनीले जनाएका छन् । लोकमार्गको तेह्रथुम खण्डमा अहिले सडक निर्माण, स्तरोन्नति र कालोपत्र गरी १३ वटा खण्डमा टेण्डर लागिसकेको छ । तर २०७० सालदेखि कामको जिम्मा लिएका निर्माण कम्पनीले नै काम सम्पन्न गरेका छैनन् ।


ADVERTISEMENT

# # #


लोकमार्गको पाँचथर जोरसाल–माझीटार खण्ड कालोपत्र भइसकेको छ । सोही समयमा ठेक्का लागेका तेह्रथुम खण्डका निर्माण कम्पनीले स्तरोन्नतिको काम नै सकेका छैनन् । जोरसाल–तमोर–संक्रान्ति खण्डमा स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ एण्ड थोकर निर्माण सेवाले २०७० सालमा जिम्मा लिएको कामको अहिलेसम्म ८० प्रतिशतमात्रै काम गरेको छ ।

जोरसाल–संक्रान्ति–म्याङ्लुङ खण्डअन्तर्गत नै विभिन्न खण्डमा स्तरोन्नति, ग्याभिङ निर्माण, नाली निर्माण र कालोपत्रसम्मका लागि रसुवा, डाँफे र इलाइट जेभी, रसुवा–एसविएजेभी, एसविएजेभी, महालक्ष्मी सिंह एण्ड ब्रदर्स, गौरी पार्वती र कोशी एण्ड न्यौपाने, भारत निर्माण, मैनाचुली, सिद्धिसाई जेभी, गाल्वा–रफिया जेभीलगायत निर्माण कम्पनीले कामको जिम्मा लिएका छन् ।

तीमध्ये अधिकांश कम्पनीको कामको प्रगति ४० प्रतिशत नाघेको छैन । अधिकांश कम्पनीलाई म्याद थप गरी काम गर्ने समय दिइए पनि समयमा काम गर्न नसकेको लोकमार्ग आयोजनाले जनाएको छ । रासस