काठमाडौँ– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लबद्वारा साक्षात्कारमा बोल्दै उपकुलपति कोइरालालाई क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोईरालाले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको आरोप लगाए । उनले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो पोखे । उनले भने, ‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाईएन।’

यसअघि प्रचण्ड नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले एक साता अघि नै यसबारे आफुले सरकारलाई जानकारी गराइसकेपनि छापामार शैलीमा नियन्त्रण गर्नु सिंगो प्राज्ञिक क्षेत्रकै अपमान भएको बताए ।

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको कडा टिप्प्णी गर्दै कोइरालाले भने, ‘म त एक प्रतिनिधि पात्र मात्रै हुँ, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो, मैले अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिँगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन् ।’

यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ।’

यस्तै उनले ओली सरकारले अधिनायकवादको पूर्व संकेत देखाएको बताए । उनले भने, ‘के अपराध गरेको थिएँ र मलाई विमानस्थलबाटै अपहरण गरियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिईरहेका छैनन् ।’