एजेन्सी– उरुग्वे र फ्रान्सबीचको क्वार्टरफाइनलमा धेरैका आँखा फ्रान्सका युवा फुटबलर केलिएन एम्बाप्पेतर्फ केन्द्रित थियो । अर्जेन्टिनासँगको खेलमा दुई गोल गरेर एकाएक चर्चामा आएका एम्बाप्पे दर्शकले अपेक्षा गरेअनुसारको प्रस्तुति दिन सकेनन् । बरु नाटकीय ढंगले मैदानमा लडेर आलोचित बने । तर, फ्रान्सकै सदाबहार स्टारको छवि बनाएका स्ट्राइकर एन्टोनी ग्रिजम्यान नायक बने ।


ADVERTISEMENT


“उरुग्वेसँग भावनात्मक सम्बन्ध रहेकाले गोल गर्दा खुसियाली नमनाएको फ्रान्सका स्ट्राइकर ग्रिजम्यानको भनाइ ।”


ADVERTISEMENT

# # #


ग्रिजम्यानले मध्यान्तरपछि महत्वपूर्ण अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए । ६१औँ मिनेटमा ग्रिजम्यानले २५ यार्ड टाढाबाट प्रहार गरेको बल उरुग्वेका गोलरक्षकले ‘ग्रिप’ लिन नसक्दा बल पोस्टभित्र छिर्यो । राफेल भरानेले दिएको पास बललाई ग्रिजम्यानले सदुपयोग गर्दै गोल गरेका थिए । उनको गोलले फ्रान्सलाई सेमिफाइनलसम्मको यात्रा सुनिश्चत गरेको थियो । तर, सुन्दर गोलका बाबजुद ग्रिजम्यानले खुसियाली मनाएनन् । आखिर किन ?

भावनात्मक सम्बन्ध
ग्रिजम्यानले आफ्नो उरुग्वेसँग भावनात्मक सम्बन्ध रहेकोले गोल गर्दा खुसियाली नमनाएको बताएका छन् । आफ्नो फुटबल करिअरमा उरुग्वेको प्रभाव रहेको ग्रिजम्यानले बताउँदै आएका छन् । ‘जब मैले फुटबलको करिअर सुरु गरेँ, उरुग्वेले फुटबलका राम्रा र नराम्रा पक्षबारे सिकाएको थियो,’ उनले भने । उरुग्वेको टिम आफैँमा सशक्त भएको उनको भनाइ छ । ‘म उरुग्वे संस्कृति र उरुग्वेलाई मन पराउँछु । उरुग्वेप्रति मेरो सम्मान भएकोले गोलमा खुसी नमनाउनु मेरा लागि सामान्य हो,’ उनले भने ।

उरुग्वेमा राम्रा साथी
यसै साताअघि उनले आफू आधा उरुग्वेयन भएको बताएका थिए । उनको रियल सोसिडाडका पूर्वसहकर्मी कार्लोस ब्युनो र एटलेक्टिकोका डिफेन्स डिगो गोडिनसँग राम्रो दोस्ती छ ।