अछाम– साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माणाधीन ५२ किलोवाट खप्तड लघुजविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ ।


ADVERTISEMENT


वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, साँफेबगर नगरपालिका, खप्तडको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा काम अगाडि बढेको हो । साँफेबगर नगरपालिकाको रु ८ लाख, खप्तड वडा कार्यालयको रु ७ लाख र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको रु १ करोड १७ लाख ३० हजार बराबरको लागतमा काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


अहिले आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको र आगामी कात्तिक महिनासम्म बाँकी ४० प्रतिशत काम सकेर विद्युत् बाल्ने तयारी भइरहेको खप्तड लघुजलविद्युत् आयोजनाका सल्लाहकार संयोजक हस्तबहादुर कडायतले बताएका छन् ।

आयोजनाका लागि पावर हाउसको जेनेरेटर, टर्बाइन, ट्रान्सफमरलगायतका ठूला उपकरणहरु हेलिकेप्टरबाट ढुवानी भइरहेको आयोजना उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कडायतले बताए । तर केही ठाउँमा विद्युत्को तार जमिन मुनिबाट लिनुपर्ने भएकाले वातावरणीय प्रभाव परीक्षण गर्नुपर्ने समस्या देखिएको छ । सामान ढुवानीमा खप्तडमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले पनि सहयोग गरिरहेको छ ।

खप्तडमा २०५६ सालमा निर्माण भएका दुई वटा योजना १३ किलोवाट क्षमताको आर्दोलीगाड प्रथम लघु जलविद्युत् योजना, तल्तुका १३ किलोवाट क्षमताको आर्दोलीगाड दोश्रो लघुजलविद्युत योजना, बलेल्तमा निर्माण भएका थिए । तर २०६३ साल भदौ १० गतेको बाढी पहिरोले दुवै योजनाका पावर हाउस, कुलोलगायतका सबै उपकरण बगाएको थियो ।

बाढीले दुवै योजना बगाएपछि करिब १२ बर्ष यता खप्तडका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । आयोजना निर्माण सम्पन्न भए नेपाली सेनाको खप्तड व्यारेक, खप्तड राष्ट्रिय निकुञ्ज, खप्तड पर्यटन बोर्डका कार्यालय र साविकको खप्तड गाविसका ३४४ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । रासस