काठमाडौं– तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो स्वरूप दिएको काठमाडौं छाउनीस्थित–१५ रोपनी एक आना जग्गाको कम्पाउण्डमा बनेको घरको मूल गेटमा नेपाल ट्रष्टले आज ताला लगाई दिएको छ ।


ADVERTISEMENT


नेपाल ट्रष्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा मंगलबार तालाबन्दी गरेको हो । ट्रष्टका कार्यकारी सचिव रमेशप्रसाद सिंहका अनुसार पटक–पटक घर खाली गरिदिन ताकेता गर्दा पनि खाली नगरेपछि ताला लगाइएको हो । ‘हामीले घर खाली गरिदिन पटक–पटक आग्रह गरेका हौं । तर, उहाँले अनेक बहानाबाजी गर्न थालेपछि ताला लगाएका हौ’, सिंहले भने । सिंहका अनुसार ट्रष्टले हालसम्म तीन पटक घरजग्गा खाली गर्नका लागि ताकेता गरेको थियो ।


ADVERTISEMENT

# # #


पहिलो पटक २०७२ भदौ ६ गते ३५ दिन, दोस्रो पटक ०७३ फागुन ५ मा ३० दिने र पछिल्लो पटक २०७५ बैशाख ६ गते सात दिने म्याद दिएर पत्रचार गरिएको थियो । पटक पटकको आग्रहलाई पनि अटेर गरेपछि गृहमन्त्रीको परामर्शमा तला लगाइएको ट्रष्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजो दिएको २ रोपनी १३ आना १ पैसा १ दाम जग्गा र त्यसमा बनेको घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते सरकाले निर्णय गरेको थियो । ज्ञानेन्द्रले छोरीलाई दाइजो दिनुअघि उक्त घरजग्गा पूर्वराजा वीरन्द्रको नाममा थियो ।

सरकारको उक्त निर्णयबिरुद्ध प्रेरणाले सर्वोच्च अदालतमा त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन् । २०७३ साल पुस २१ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले बिहीबार उनको सम्पत्ति सरकारी हुने निर्णय गरेको थियो । यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले भने पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए ।