काठमाडौं – जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ ।


ADVERTISEMENT


कीर्तिपुरबाट बिहान ५ बजेर ३७ मिनेटमा पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान साढे ५ बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान सवा ८ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ ।

बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्यांक पठाउने शर्माले बताए । बुधबार उडाइएको मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो ।

बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पारेमा विभागमा पुर्‍याइदिन वा सम्पर्क गर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यससम्बन्धी सूचना उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।

बुधबारको मौसमी बेलुनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्तरुपमा गरेका थिए ।