फागुन २ । शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT

# # #


शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई पत्राचार गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । तर, यसको कार्यान्वयनका लागि शुक्रबार क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र भएको हो ।

जलेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक थिलराज निरौलाले खुसी व्यक्त गर्दै भने “चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नुपर्ने बाध्यता थियो, अब सहज हुन्छ ।”

शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिक रुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरुको भनाइ छ । सिंहदेवी आधारभूत विद्यालय, नेचावेतघारीकी शिक्षिका कुमारी ढुङ्गेल शर्माले भनिन् “घरपायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो । मासिक रुपमा तलब पाएपछि सजिलो हुनेछ । यो व्यवस्थाको स्वागत गर्दछु ।”

यता जिल्ला शिक्षा कार्यलयले पनि तलबसम्बन्धी व्यवस्था शिक्षकमैत्री भएको बताएको छ ।परिपत्रमा जिल्ला शिक्षा कार्यालयले साउनको सुरुमा नै विद्यालयबाट माग फाराम सङ्कलन गर्ने र महिनाको अन्त्यमा प्रथम चौमासिकको तलब निकासा गर्न भनिएको छ ।

दोस्रो र तेस्रो चौमासिक अवधि नलाग्दै माग फाराम लिने र चौमासिकको सुरुको महिनामै तलब निकासा गर्ने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयले भनेको छ । निकासाबाट प्राप्त रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा नै तलब भुक्तान गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।