काठमाडौँ– फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिकोत्सव कार्यक्रम बुधबार दुहबी, सुनसरीमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ग्रमीण क्षेत्रमा यस संस्थाले वित्तीय पहुँच बढाउँदै लगेकोमा सन्तोष व्यक्त गरेका थिए । उनले ‘घ’ वर्गको वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई सहज रुपमा वित्तीय सेवा पुर्याउनुका साथै वित्तीय रुपमा साक्षर बनाउनु पर्ने धारणा राखेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रमका सभापति पूर्व राज्यमन्त्री तथा वित्तीय संस्थाकी अध्यक्ष भगवती चौधरीले ग्रामीण महिलालाई सामाजिक तथा आर्थिक रुपले अघि बढाउनु पर्ने भएकाले यस संस्थाको नाम फरवार्ड राखिएको प्रसङ्ग उठाएकी थिइन् । ग्रामीण महिला उत्सुकता विकास मञ्च(फरवार्ड) का संस्थापक कार्यकारी निर्देशक स्व. दिनेश चौधरीको परिकल्पना अनुसार २०५१ सालमा ग्रामीण महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपले सशक्तीकरण गर्न गैर सरकारी संस्था स्थापना भएको र उक्त संस्थाकै अगुवाइमा यस वित्तीय संस्थाको जन्म भएको अध्यक्ष चौधरीले स्मरण गराइन् । उनले यस वित्तीय संस्थाले विपन्न दुई लाखभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा दिनुका साथै विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले स्वागत गर्दै वित्तीय संस्थाको अवस्थाबारे जानकारी दिएका थिए। चौधरीका अनुसार वित्तीय संस्थाले हालसम्म ३४ जिल्लामा ९७ शाखा मार्फत दुई लाख आठ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा पुर्याइरहेको छ । हाल लगानीमा बाँकी रहेको कर्जा रु. छ अर्ब १५ करोड रहेको छ ।

कार्यक्रममा वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्य गर्ने १८ जना कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसै गरी वित्तीय संस्थाका २७७ केन्द्रहरुलाई जम्मा रु।५ लाख १६ हजार पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा सञ्चालक सत्यनारायण चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । राष्ट्रिय बाणिज्य बैंक दुहबीका प्रबन्धक राजेश पोखरेलले शुभकामना व्यक्त गरेको कार्यक्रममा ग्राहक महिला सदस्यहरुले वित्तीय संस्थाले आफ्नो व्यक्तिगत जीवन तथा समाजमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा प्रस्ट पारेका थिए ।

पुरस्कृत कर्मचारीको तर्फबाट बोल्दै शिवनारायण यादवले वित्तीय संस्थाले पुरस्कृत गरेर अझ दृढतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने हौसला मिलेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरका क्षेत्रीय प्रबन्धक , स्थानीय सुरक्षा प्रमुख, ग्रामीण महिला उत्सुकता विकास मञ्चका महासचिव कलावती चौधरी लगायत ३०० जना ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।