काठमाडौं–विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साउदी अरेबियाले आयोजक रसियासँग ५–० को लज्जास्पद हार सामना गर्यो । साउदीले कम्तीमा पनि बराबरी वा झिनो अन्तरले पराजित हुने अपेक्षा राखेको थियो । तर, विश्वकप इतिहासमै ठूलो अन्तरको हार सामना गरेपछि साउदी अरेबियाका तीन खेलाडी ठूलै कारबाहीमा पर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


ADVERTISEMENT


साउदी अरेबिया फुटबल संघका प्रमुख अडेल इजाटले खुला रूपमा विश्वकप खेलिरहेका तीन खेलाडी कारबाहीमा पर्न सक्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


रंगशालामा राजकुमार लज्जित
उद्घाटनमा साउदीका राजकुमार मोहम्मद विन सलमानले अति नै भिआइपी बक्समा बसी प्रतिस्पर्धा हेरेका थिए । फिफाका अध्यक्ष तथा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसँगै राजकुमार सलमानले फुटबलको मजा लिए ।

पहिलो हाफको प्रदर्शनसम्म राजकुमार सलमान खुसी नै देखिन्थे । खेलको अन्तिम नतिजा आउँदा उनको अनुहारमा खुसी थिएन । यता, पुटिन रसियाले सानदार जित दर्ता गर्दा दंग नै परे । यद्यपि, खेलमा हार र जित हुने जनाउँदै पुटिनले सलमानलाई सम्झाउने कोसिस नगरेका होइनन् । राजकुमार सलमानले भने हार सहज स्विकारेनन् ।

विश्वकपपछि कारबाही
साउदी अरेबिया फुटबल संघका अध्यक्ष इजाटले विश्वकपपछि खेलाडीहरूमाथि कारबाही हुने स्पष्ट पारेका छन् । उनका अनुसार गोलरक्षक अब्दुलाह अल, स्ट्राइकर मोहम्मद अल तथा रक्षापंक्तिका ओमार हावसावीले ठूलै कारबाही सामना गर्नुपर्छ ।

‘हामी नतिजाबाट दुःखी छौँ,’ इजाटले भने, ‘हामी समीक्षा गरिरहेका छौँ, हारको कारणमा अरू पनि खेलाडी हुन सक्छन् ।’ उनले कस्तो खाले कारबाही हुने भनी खुलाएका छैनन् ।

‘खेलाडीले विश्वकपमा साउदीको नाक काटेका छन्,’ क्रूर देखिएका इजाटले भने, ‘कारबाही अब माथिबाटै हुनेछ ।’

सबैबाट आलोचना
साउदी अरेबियाको खेलकुद महासंघका प्रमुख अल सेखले रसियासँग खेलका कारण आफूले कसैलाई पनि अनुहार देखाउन नसकेको बताएका छन् ।

‘खेलपछि मैले कसैलाई पनि अनुहार देखाउन सकिनँ,’ उनले भने, ‘मेरो अनुहार कालो भएको छ ।’ साउदीले विश्वकपमा उत्कृष्ट टोली पठाएको उनको दाबी रह्यो । ‘हामीले अहिलेसम्म बलियो टोली विश्वकपमा पठाएको भन्यौँ, तर त्यो गलत रहेछ,’ उनी भन्छन् ।