काठमाडौं–अवैध रुपले काठ ओसार्ने कार्यमा सम्लग्न भएको भन्दै सशस्त्र प्रहरीले एक डिएसपीसहित ४ जनालाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीसहित ४ जनालाई निलम्बन गरिएको प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका भण्डारीसहित ४ जना प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई तथा सो गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् ।

प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । छानवीन समितिले स्थलगत अध्ययन गर्नुकासाथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ ।

तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।