चितवन– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष विकासका लागि भएको भन्दै विकासमा विपक्षी नरहेको बताएका छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौती र भावी कार्यदिशा’ विषयको एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य मान्यतामा सत्ता पक्ष र प्रतिपक्ष भए पनि अहिले विकास निर्माणमा कोही प्रतिपक्ष नरहेको बताए ।


ADVERTISEMENT

# # #


लामो समय सरकारमा रहेर अनुभव हासिल गरेको विपक्षी र केही गरौँ भन्ने सत्तापक्ष भएकाले सबैको साझा एजेण्डा विकास र समृद्धि भएको उनले बताए ।

उनले भने, “विगतमा राजनीतिक विषयमा सबैको ध्यान केन्द्रित हुने भए पनि अहिले आम जनता, राजनीतिक दल र सरकारको ध्यान विकासमा केन्द्रित छ ।” अब विकास र समृद्धिको दशक बनाउनुपर्ने बताउँदै उनले विकासका लागि सबै एक ठाउँ भएको अवसर गुमाउन नहुने बताए ।

विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन मोदीले निम्तो दिएको पनि बताए। छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि उनले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको उनले बताए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि आफू पालोपालो भारत र चीन जाने तयारी गरेको उनले बताए । चीन र भारतले देशका अन्य ठाउँमा झैं चितवन केन्द्रित एक÷एकवटा गौरवका आयोजनामा सहयोग गरोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।

उनले आफू, प्रधानमन्त्री र अर्थमन्त्री बीचमा बजेटका विषयमा तीन घण्टा बहस भएको भन्दै उनले चुनावमुखी लोकप्रिय बजेट नभएर जनता, राष्ट्र र देशको अर्थतन्त्रलाई हेरेर बनाइएको बजेट भएको बताए ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका दाहालले भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरको महानगर बनाइनुपर्ने बताए । देशको केन्द्रभागमा रहेको, प्राकृतिक स्रोतसाधनले सम्पन्न, धार्मिक हिसाबले महत्वपूर्ण, राम्रो भौगोलिक अवस्थितिका कारण यसलाई अन्तर्राष्ट्रियस्तरको नमूना महानगर बनाउन सकिने बताए ।

उनले भरतपुर महानगरमा बनाउने गुरुयोजना अध्ययन, अनुसन्धान र छलफल गरेर निर्माण गर्न सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले ‘भरतपुरको क्षेत्रीय अवस्थिति र विकासको सम्भावना’, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्यले ‘समृद्ध भरतपुरका लागि व्यवस्थित शहरीकरण’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठले ‘स्मार्ट भरतपुरः योजना र सम्भावना’ विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी, नेकपाका नेता ईश्वरी भट्टराई, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले महानगर गुरुयोजनाका लागि सुझाव दिएका थिए ।

सो अवसरमा महानगरकी प्रमुख रेनु दाहालले सबैको सुझाव संकलन गरेर गुरुयोजना निर्माण गर्न लागिएको बताइन् । उनले विगत एक वर्षमा महानगरले गरेका कार्यहरु प्रस्तुत गरेकी थिइन् ।